लोकसेवा विज्ञापन रद्ध गर्ने दुर्भाग्यपूर्ण कार्यमा सरकार लाग्दैन,सर्बोच्चको फैसला नै सर्वमान्य : मन्त्री पण्डित

काठमाडौ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले कर्मचारी भर्नासम्बन्धी अगाडि बढाएको प्रक्रिया रोक्न नसकिने र त्यसको अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन सम्बन्धी विषय अदालतमा प्रवेश गरिसकेकोले कुनै अन्योलता र भ्रम नरहेको दाबी गर्दै मन्त्री पण्डितले भन्नुभयो –‘सर्बोच्चमा यो मुद्दा परिसकेको छ र सर्बोच्चको निर्णय नै सर्वमान्य हुनेछ ।’

नेपाली प्रशासनमा लामो बिताएका प्रशासन क्षेत्रका विज्ञहरुको निकाससहितको धारणा आवश्यक ठानी सञ्चार केन्द्र नेपालले ‘लोकसेवा आयोगले थालेको स्थानीय तहको परीक्षा र जनमानसमा सिर्जित अन्योलताको निकास’ विषयक छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री पण्डितले संसदीय राज्यव्यवस्था समितिले कुनै अनुगमन नै नगरी दिएको निर्देशन दिएपनि सरकार दुर्भाग्यपूर्ण कार्यमा नलाग्ने स्पष्ट पार्नुभयो ।

स्थानीय निकायमा आवश्यक कर्मचारी भर्ना गरिदिन स्थानीय तहहरुको मागको आधारमा मन्त्रालयले सम्वैधानिक व्यवस्था अनुसार नै लोकसेवा आयोगलाई विज्ञापन गर्न पठाइएको भन्दै यसलाई रोक्न समिति दिएको निर्देशन नै त्रुटीपूर्ण रहेको मन्त्री पण्डितको आरोप थियो ।

त्यसैगरी पूर्व प्रशासक एवं पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ७ वटै प्रदेशमा चाँडोभन्दा चाँडो प्रदेशस्तरीय लोकसेवा आयोगको गठन गर्न जरुरी देखिएको बताउनुभयो । ‘जसको कोही छैन उसको लोकेवा छ’ भन्दै पूर्वमन्त्री कोइरालाले वषौंदेखि जनताको भरोराको केन्द्र अहिले आएर विवादमा पर्नु दुर्भाग्यपूर्ण भएको भन्दै यसले सुशासन, समृद्धि र विकास नै जोखिममा पर्न सक्ने उहाँको तर्क थियो । कोइरालाले पछिल्लो पटक स्थानीय तहमा खुलाइएको विज्ञापनअनुसार पदपूर्ति गर्दा पनि अझै ४१ हजार कर्मचारी आवश्यक पर्ने भन्दै आवश्यक भए प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म करारमै भएपनि कर्मचारी भर्ना गरेर काम नरोक्न सुझाव दिनुभयो ।

त्यसैगरी लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गर्नुभयो । उहाँले आयोग स्वच्छ निकाय भएकोले कानून र संविधानको पूर्ण पालना गर्ने विश्वास दिलाउनुभयो । लोकसेवा आयोग पहिचान शुन्यता संस्था भएको बताउनुहुँदै उहाँले भन्नुभयो ‘आयोगले योग्य र भरोसायोग्य जनशक्ति नियुक्ती गर्छ । आयोग विवादमा आउँदैन् ।’ शर्माले आयोग उम्मेद्धवारप्रति पनि उतिकै उत्तरदायी र जिम्मेवार रहेको बताउनुभयो ।

हाल लोकसेवा आयोगमा १ लाख २९ हजार ७ सय २७ जनाले आवेदन दिइसकेकोले आयोगको प्रक्रिया सफल बनाउन सबैसँग सहयोगका लागि आग्रह गर्नुभयो । त्यसैगरी पूर्वसचिव सुकदेव भट्टराईले निजामति ऐन, संघीय कानुन लोकसेवा आयोगको विधान र ऐन अनुसार नै आयोगले कर्मचारी भर्ना गरेको औल्याउनुभयो ।

भट्टराईले राज्यव्यवस्था समितिले निर्देशन दिनुपूर्व पर्याप्त गृहकार्य नगरेको र विज्ञहरुसँग राय नलिई आदेश दिएकोले समितिको आदेशले कुनै अर्थ नराख्ने आक्रोश पोख्नुभयो । ‘हिजोको दिनमा समेत संसदीय समितिहरुको निर्देशनमाथि प्रश्न उठेको र कार्यान्वयन समेत भएको छैन’ भन्दै पूर्वसचिव भट्टराईले समितिको निर्देशन बाध्यकारी होइन, यसलाई मान्नैपर्छ भन्ने छैन लोकसेवा आयोगले आफ्नो काम गर्दा हुन्छ भन्ने धारणा राख्नुभयो ।

अर्का वक्ता तथा पूर्वसचिव शारदाप्रसाद त्रितालले लामो समयदेखि स्वच्छ छवि बनाउँदै आएको लोकसेवा आयोग पछिल्लो समय विवादित बन्दा आफूँ दुखित भएको बताउनुभयो । आफूँ खरदारदेखि सहसचिवसम्म खुल्ला प्रतिस्पर्धाबाटै पुग्न सफल भएको स्मरण गर्दै लोकसेवा आयोगको गरिमामाथि प्रश्न खडा गर्ने कुनै पनि किसिमको क्रियाकलाप गर्न नहुने तर्क गर्नुभयो ।

राज्य व्यवस्था समितिले पछिल्लो समय दिएको निर्देशनले समावेशीको नाममा युवाहरुमा विभाजन आएको, कर्मचारी भर्ना प्रक्रिया रोकिँदा स्थानीय निकायका जनप्रतिनिधिले लिएको लक्ष्य जनशक्तिको अभावका कारण पूरा नहुने, करारमा कर्मचारी भर्ना गर्दा योग्य युवाहरुले अवसर नपाउने र करारमा आएका कर्मचारी राजनीतिक पहुँचमा आएका हुनाले सेवाग्राहीप्रति शासकको रुपमा प्रस्तुत हुने लगायतका समस्या आउने बताउनुहुँदै समितिको निर्देशन कानुनः नदेखिएको बताउनुभयो ।

उहाँले लोकसेवा आयोगले गरेको विज्ञापनलाई स्वत कार्यान्वयनमा लैजान समितिले सहयोग नगरे सुशासन समिति नै सुशासनमाथि आघात गर्ने समितिमा परिणत हुने तर्क राख्नुभयो ।

त्यस्तै अर्का पर्वसचिव शान्तबहादुर श्रेष्ठले आफूँ गाउँमा जन्मिँदा केही नबुझ्ने अबुझ भएपनि लोकसेवा आयोगको निष्पक्षता र स्वच्छताकै कारण राज्यको अधिकांश निकायमा रहेर सेवा गर्ने अवसर पाएको बताउँदै यसलाई विवादमा नपार्न सुझाव दिनुभयो । राज्य व्यवस्था समितिको निर्देशन संविधान अनुरुप नभएकाले लोकसेवा आयोगले आफ्नो प्रक्रिया रोक्न आवश्यक नरहेको दाबी गर्नुभयो ।

त्यस्तै उपभोक्ताकर्मीले राज्यले सेवा प्रदान गर्दा गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा पछिल्लो समय राज्यव्यवस्था समितिले यसलाई असर पुग्ने गरि दिएको निर्देशनको कडा भत्र्सना गर्नुभयो । लोकसेवा आयोगलाई विवादमा फसाए उपभोक्ताको तर्फबाट समितिविरुद्ध कडा आन्दोलन गर्नुका साथै आफूँ कानुन व्यवसायी समेत रहेकोले मुद्दा अदालतमा गइसकेको अवस्थामा सरकार र लोकसेवालाई मुद्दा जिताउन सहयोग गर्ने प्रद्धिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै युवा नेता पर्शुराम बस्नेतले लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी भर्ना गर्नको लागि अगाडि बढाएको प्रक्रिया अवरुद्ध हुने गरी संसदीय राज्यव्यवस्था समितिले दिएको निर्देशन विरुद्ध सम्पूर्ण युवाहरु एक भएको तर्क गर्नुभयो । समितिले हचुवाको भरमा यस्तो निर्णय गर्दा मुलुक कतातिर जाँदैछ भन्ने चिन्तामा आफूँहरु परेको युवानेता बस्नेतले बताउनुभयो ।

लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेको ९ हजार १ सय ६१ कर्मचारी पदपूर्ति गर्नका लागि खुलाएको विज्ञापन अनुसार १ लाख २९ हजार ७२७ व्यक्तिहरुले आवेदन दिइसकेका छन् ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार १८:२६