‘भिजिट नेपाल २०२०’ सफल बनाउन जापानको नागोयामा दुई दिने नेपाल फेस्टिबल शूरु

नागोया: जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष जापानको मुटु मानीने अर्को शहर नागोयामा पहिलो पटक आयोजना गरिएको छ । भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आयोजना गरिएको फेस्टिवल विशेष गरि नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गराइएको छ ।

भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको संयुक्त आयोजनामा सो फेस्टिवल आयोजना गरिएको हो । फेस्टिवल विशेष गरि जापानी नागरिकमाझ नेपालको पर्यटन प्रबद्र्धनमा सघाउ पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । दुई दिन सम्म चल्ने फेस्टिवलमा २० हजार हाराहारीले अवलोकन गर्ने अपेक्षा राखिएको छ ।

फेस्टिबल जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले एक कार्यक्रमकाबीच उद्घाटन गरेसँगै शूरु भएको हो । कार्यक्रममा नेपाली राजदूत उपनियोग उपप्रमुख कृष्णचन्द्र अर्याल, एनआरएनएका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, प्रवक्ता भूषण घिमिरे, आइसिसी युवा संयोजक सुदन थापा, एनआरएन जापान संयोजक टासी वान्दी लामा, आइसिसी सदस्यहरुलगायत विभिन्न पदाधिकारी तथा सदस्यहरु र जापानस्थित विभिन्न संघसंस्थालगायत जापानका उच्च अधिकारीहरुको विशिष्ट ब्यक्तीहरुको सहभागिता थियो ।

कार्यक्रम संयोजक एवं एनआरएनए एसिया प्यासिफिक उपसंयोजक पारसमणी पोखरेलका अनुसार नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको हो । फेस्टिबलमा दुई तले नेपाली बाँटुले घर प्रमुख आर्कषण रहेको छ । फेस्टिवलमा खानाको स्टल १२ वटा, नर्मल स्टल २० वटा राखिएको छ । साथै अन्य विभिन्न नेपालको प्रचार प्रसार गर्ने तथा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने खालका स्टल राखिएको संयोजक पोखरेलले जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा जापानीहरुलाई नेपाल चिनाउन जापानको नागोयामा पहिलो पटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको एनआरएनए जापानका पूर्व अध्यक्ष समेत रहनु भएका कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो । फेस्टिबलमा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पंचेवाजाको प्रस्तुति छ । फेस्टिबलमा नेपाली कला संस्कृतिसँगै नेपाली परिकारका साथ फेष्टिवलमा रम्न सकिन्छ ।


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार १८:०९