एसइई परीक्षा नहुने, आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट

काठमाडौं: सरकारले कोरोना भाइरसको कारण स्थगित गरिएको गत वर्ष ०७६ को कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । अब विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने बुधबार बसेको मन्त्रिपरिषद्ले बैठकले निर्णय गरेको हो ।

कोरोनाको संक्रमण बढ्दै गएको र विद्यालय पनि क्वारेन्टाइनका रूपमा प्रयोग गरिएकाले पहिलेजस्तै गरी परीक्षा लिन नसक्ने अवस्था भएकाले स्थगीत गरिएको जनाइएको छ । तर
गत वर्षको एसइईमा विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने तयारी गरिएको छ । यस विषयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषद्मा प्रस्ताव लग्नुभएको थियो । त्यहीअनुसार, एसइईका विषयमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेडसिट दिने निर्णय भएको हो ।

गत ६ चैतमा हुने तय भएको एसइईका प्रश्नपत्र परीक्षा केन्द्रनजिकको प्रहरी चौकीमा पुगिसकेका थिए । कोरोनाको जोखिम बढेपछि एक दिनअघि परीक्षा स्थगित गरिएको थियो । एसइईमा एक हजार नौ सय ९५ केन्द्र र चार लाख ८२ हजार दुई सय १९ विद्यार्थी छन् । यसपटक झण्डै चार लाख ८२ हजार परीक्षार्थीले सहभागिता जनाउँदै थिए । 

त्यस्तै, कक्षा १२ मा हुने विद्यालय तहको अन्तिम परीक्षा भने हुने भएको छ । सो परीक्षा कोरोना संक्रमण हटेर सामान्य अवस्था आएपछि उपयुक्त समयमा गरिने भएको हो । शिक्षामन्त्री पोखरेलले विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२ को परीक्षा लिइने जानकारी गराउनुभयो ।


प्रकाशित | २९ जेष्ठ २०७७, बिहीबार ०७:४६