यमन र माली शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी

काठमाडौं : काठमाडौं-राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुक यमन र मालीमा शान्ति स्थापनार्थ नेपाल प्रहरीलाई खटाउने भएको छ। यमनका लागि प्रहरी अधिकृतको नाम सिफारिस भइसकेको छ भने माली शान्ति मिसनमा समेत पठाउन प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पर्यवेक्षकका रूपमा राष्ट्रसंघले नेपाल प्रहरीलाई यमन र मालीमा खटाउन लागेको हो। फ्रेन्च भाषामा पोख्त प्रहरी ती देशमा पठाउन लागिएको नयाँ पत्रिकामा खबर छ।

यमनका लागि तीन प्रहरीको नाम सिफारिस भइसकेको प्रहरीको युएन शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डेले बताए। मालीमा खटाउनेबारे पनि छलफल भइरहेको उनले बताए। गत कात्तिकदेखि नेपाल प्रहरी कंगो मिसनमा समेत खटिँदै आएको छ। १७ वर्षपछि नेपाल प्रहरी राष्ट्रसंघअन्तर्गत कंगो मिसनमा खटिएको हो। जहाँ हाल चारजना प्रहरी कार्यरत छन्।

हाल नयाँ मिसनहरूमा जानका लागि प्रहरी अधिकारीहरूले अंग्रेजीका साथै फ्रेन्च भाषासमेत जान्नुपर्ने भएको छ। त्यसैले प्रहरीमा फ्रेन्च पढ्ने लहरसमेत सुरु भएको छ। पछिल्लोपटक प्रहरी जान थालेका मिसनमा फ्रेन्च अनिवार्य गरिएको छ। कंगो मिसनमा पनि फ्रेन्च जान्ने प्रहरीलाई मात्र पठाइएको छ। फ्रेन्च मिसनहरूमा प्रस्ताव आएपछि प्रहरीले आफैँ पनि भाषा पढाउन थालेको छ।

कंगोबाहेक सुडान र दक्षिण सुडानमा नेपाल प्रहरीका अधिकारीहरू कार्यरत छन्। हाइटीस्थित एफपियू मिसन गत महिना मात्र बन्द भइसकेको छ। तर, केही महिनाका लागि केही प्रहरी अझै कार्यरत छन्। हाइटीबाट बस्दोबस्तीका सामान फिर्ता ल्याउने प्रक्रिया प्रहरीले अघि बढाइसकेको छ।


प्रकाशित | २९ जेष्ठ २०७६, बुधबार ०८:११