भक्तपुर । सूर्यविनायक नगरपालिकाले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सामुदायिक बिद्यालयमा प्रधानाध्यापक नियुक्त गरेको छ । नगरपालिकाले सामुदायिक बिद्यालयमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट खुल्ला प्रतिस्पर्धा गराएर प्रधानाध्यापक नियुक्त गरेको हो ।

नगरपालिकाले प्रधानाध्यापक नियुक्तीका लागि कार्यबिधी बनाएर प्रा. डा मनप्रसाद वाग्ले, प्रा. डा. विनय कुमार कुसियत, प्रा डा. सुशन आचार्य, प्रा डा.प्रमिला राजभण्डारी, डा. बिष्णु कार्कीसहितको विज्ञ कमिटि गठन गरेको थियो । सो कमिटिले शुक्रबार नगरपालिकाका प्रमुख बासुदेव थापालाई नतिजा बुझाएको थियो ।

नगरपालिकाका प्रमुख थापासहित उपप्रमुख सरिता तिमिल्सिना भट्टराई, कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कँडेल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडाध्यक्ष प्रदिप कार्की, सूचना अधिकारी अनीरुद्र नेपाललगायत शिक्षा शाखाका कर्मचारीको उपस्थितिमा मेयर थापाले विज्ञ टोलीले बुझाएको नतिजा सार्वजनीक गर्नु भएको हो ।

मेयर थापाले माध्यामिक तहमा १० जना, निमाबिमा ४ जना र प्राबिमा १८ जना प्रधानाध्यापकको नतिजा सार्वजनीक गर्नुभयो ।

नगरपालिकाले नेपालमै पहिलो पटक कार्याविधी बनाएर प्रधानाध्यापक नियुक्त गरेको हो ।

नगरपालिकाले प्रधानाध्यापक हुनका लागि आधारभूत तह कक्षा १ देखि ५ को लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो उत्तीर्ण गरेको, आधारभूत कक्षा १ देखि ८ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सरह उत्तीर्ण गरेको र माध्यमिक कक्षा १ देखि १० देखि १२ को लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यता तोकेको थियो ।
साथै प्रधानाध्यापक हुन चाहने शिक्षकको सम्बन्धित तहको शिक्षक पदमा कम्तिमा पाँच बर्ष स्थायी सेवा गरेको र नियुक्ति हुँदाका बखत कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने पनि मापदण्ड बनाइएको थियो ।
प्रकाशित | ८ बैशाख २०८०, शुक्रबार २२:१८