पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारी पक्राउ

एजेन्सी: पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तानी पिपल्स पार्टीका सह प्रमुख असिफ अली जर्दारी पक्राउ परेका छन् । पाकिस्तानको उच्च न्यायालयले पूर्व राष्ट्रपति र उनकी बहिनी फरयाल तालपुरको पूर्व गिरफ्तारी जमानतलाई खारेज गरेपछि उनी पक्राउ परेका हुन् । कालो धनलाई वैध बनाएको तथा नक्कली खाताबाट वित्तीय अपचलन गरेको पनि आरोप छ । पूर्व राष्ट्रपति जर्दारी यसअघि पनि भ्रष्टाचारको आरोपमा जेल गइसकेका छन् ।

उनी सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति थिए । उनी आफ्नी पत्नी तथा पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्यापछि राष्ट्रपति पदका लागि चुनिएका थिए । जर्दारीलाई लामो समयसम्म पाकिस्तानी राजनीतिका सबैभन्दा विवादास्पद व्यक्तिमध्ये एक मानिन्छ । जर्दारी र उनकी बहिनीमाथि यो मुद्दामा नक्कली खाताबाट ४।४ अर्ब रुपैयाँ देशभन्दा बाहिर पठाएको आरोप पनि छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार २१:०४