भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा लागू गरियो स्थानीय पाठ्यक्रम

भक्तपुर: मध्यपुरथिमि नगरपालिकामा आजदेखि स्थानीय पाठ्यक्रम लागू भएको छ । नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा आजदेखि स्थानीय पाठ्यक्रम लागू गरिएको हो । आज सांस्कृतिक पर्व सिठी नखःका अवसर पारेर नगर क्षेत्रका सबै विद्यालयले आआफ्नो विद्यालय नजिकैका पानीका मुहान, इनार, धाराको सरसफाइ गर्दै व्यावहारिक रुपमै स्थानीय पाठ्यक्रम लागू गरेका हुन ।

नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय पाठ्यक्रम लागू गरेको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार मध्यपुर थिमी नगरपालिकाको रहन÷सहन, रिति÷रिवाज, कला संस्कृति, इतिहास, पेशा ब्यवसाय, जात्रा पर्व, संस्कार, विवाह, व्रतबन्ध, भौगोलिक बनावट, वातावरण लगायत विविध १० ओटा विषयमा अध्याय÷अध्यापन गराउने जानकारी गराउनुभयो ।

शिक्षाविद् एवं सानोठिमी क्याम्पस विज्ञान संकाय प्रमुख रामकृष्ण दुवालको संयोजकत्वमा, बालप्रेमी स्कुलका प्रधानाध्यापक चरणकेशरी श्रेष्ठ र अमिनिटी स्कुलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी सदस्य रहनेगरी स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरेको थियो । उक्त पाठ्यक्रम १०० पूर्णाङ्गको हुने र उक्त पाठ्यक्रम सामुदायिक तथा संस्थागत विद्यालयहरुमा लागू भएको मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले नेपालका स्थानीय तहमध्ये आफ्नै स्थानीय पाठ्यक्रम लागू गर्ने मध्यपुरथिमि नगरपालिका दोस्रो नगरपालिका भएको समेत बताउनुभयो ।

मध्यपुरथिमिका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेले यो वर्ष कक्षा ६ मा स्थानीय पाठ्यक्रम लागू भएको बताउनुभयो । आगामी वर्ष कक्षा १ र कक्षा ७ मा समेत स्थानीय पाठ्यक्रम लागू गर्ने उहाँको भनाइ छ ।

Posted by Madan Sundar Shrestha on Friday, 7 June 2019


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १२:४७