‘हाम्रा नेता बलिया छन्, बोल्न हुन्न, बोल्यो कि पोल्छ’

काठमाडौं: पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरूका नाममा राज्य कोषबाट भइरहेको खर्चबारे चासो बढेको छ। जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैँ हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन। अन्नपूर्ण पोस्ट लेख्छ, भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन्। भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो छिचोल्नुपर्ने बाध्यता सुरक्षाकर्मीको हुन्छ।

यही कारण सशस्त्र प्रहरी बेलाबेलामा विवादमा आउने गरेको छ।राज्यले अन्य भीभीआईपीलाई उपलब्ध गराएको यस्ता सुरक्षा विषयमा पुनर्विचार गर्नुपर्ने आवाज उठेका छन्। सामाजिक सञ्जाल प्रयोगकर्ताले भीभीआईपीका नाममा सुरक्षाकर्मी नखटाउन माग गरेका छन्। पूर्वविशिष्टका नाममा सशस्त्रका तीन सय हाराहारीमा सुरक्षाकर्मी खटिएका छन्। ती सुरक्षाकर्मीले २८ वटा सवारीसाधन प्रयोग गरिरहेका छन्। सशस्त्र प्रहरी बलले भीभीआईपी सुरक्षामा खटिँदा अन्य काममा असर पर्ने र गाडी अभाव भएको गुनासो गृह मन्त्रालयसमक्ष गर्दै आएको छ।

नेताका पछुवामा प्रयोग हुने गाडीको इन्धनदेखि मर्मतसम्म सशस्त्र प्रहरी बलको बजेटबाट खर्च हुन्छ। भीभीआईपीका ‘मुभमेन्ट’ धेरै हुने भएकाले खर्च ज्यादा हुने गरेको सशस्त्रका अधिकारी बताउँछन्। नेताहरूको सुरक्षा दिनैपर्ने भए दुईजना सशस्त्र प्रहरी नेताको पछाडिको सिटमा बस्ने गरी एउटै गाडीको मात्र व्यवस्था गर्न मन्त्रालयलाई सुझाव दिइएको छ।

रुसमा भीभीआईपीका विषयमा यस्तै विरोध भएपछि सबैले एम्बुलेन्स प्रयोग गर्न थालेका छन्। त्यहाँ भीभीआईपीले पनि ट्राफिक निमय पालना गर्नुपर्छ। नेपालमा भने भीभीआईपीलाई ट्राफिक नियम लाग्दैन। सशस्त्रका एक वरिष्ठ अधिकारीले भने, ‘बोल्न हुन्न, बोल्यो कि पोल्छ। यस्तै धारणा राख्दा जापानी स्वयंसेवक ट्राफिकलाई नेपालबाट केही फिर्ता पठाएको हामीले बिर्सेका छैनौँ। हाम्रा नेता बलिया छन्।


प्रकाशित | २१ चैत्र २०७५, बिहीबार ०८:०९