कागेश्वरीमा एक वर्षमा २७ किलोमिटर सडक कालोपत्रे, खानेपानीका वृहत्त आयोजना अगाडि बढाइयो

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले एक वर्षमा २७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउनु भएको छ । सञ्चारकर्मीसँगको कुराकानीमा नगर प्रमुख कार्कीले आफू निर्वाचीत भएपछि एक वर्षमै २७ किलोमिटर सडक कालोपत्रे गर्न सफल भएको बताउनुभयो । अघिल्लो पाँच वर्षमा ५२ किलोमिटर सडक कालोपत्रे भएको थियो ।

उहाँले आफ्नो पहिलो वर्ष कालोपत्रे गर्ने कार्यलाई तीब्र गतिमा अगाडि बढाएको बताउनुभयो । उहाँले कालोपत्रे गर्ने कार्य अझै जारी रहेको पनि बताउनुभयो ।

मेयर कार्कीले कागेश्वरी मनोहराबासीलाई शुद्ध खानेपानी खुवाउने लक्ष्यका साथ दिनरात नभनी अगाडि बढेको बताउनुभयो । ‘खानेपानीका वृहत्त तीन वटा आयोजना अगाडि बढाइरहेका छौ’, मेयर कार्कीले भन्नुभयो, ‘काँडाघारी खानेपानीमा भएका अवरोधलाई चिर्दै ब्यवस्थित गर्न खटिरहेका छौ ।’

अबको एक सातामा ब्लक एकमा पानी खसाल्ने उहाँले बताउनुभयो । ‘जहाँ समस्या देखिएका छन त्यहाँ सुधार गर्ने काम भइरहेको छ, ढिलोमा अबको एक दुई महिनामा खानेपानीको काम सम्पन्न गरि घरघरमा पानी पुर्याउँछौ’, मेयर कार्कीले थप्दै भन्नुभयो ।

उहाँले काँडाघारीबासीलाई केहि समय धैर्यधारणा गर्न पनि आग्रह गर्नुभयो । साथै डाँछी भद्रबास र आलाकोट खानेपाली आयोजना मार्फत कागेश्वरीका सबै घरधुरीलाई शुद्ध खानेपानी पुर्याइने लक्ष्यका साथ अगाडि बढेको उहाँको भनाई छ ।

विकास दिगो र फलदायी हुनुपर्छ भन्ने पक्षमा आफू रहेको र सोही अनुसार अगाडि बढिरहेको बताउनुहुँदै सबैले अपनत्व गर्ने गरि विकास निर्माण भइरहेको उल्लेख गर्नुभयो ।

आगामी वर्षको बजेट बनाउने तयारीमा जुटेको र सबै वडा र टोलसँग योजना मागीरहेको उहाँले बताउनुभयो । यस पटक टोल विकास समितिसँग समन्वय गरेर बजेट बनाउँने र टोल विकास समितिसँग साझेदारीमा काम गर्ने गरि अगाडि बढिरहेको जानकारी पनि उहाँले गराउनुभयो ।


प्रकाशित | २८ जेष्ठ २०८०, आईतवार २२:२२