ढलान गर्दागर्दै भत्कियो पक्की पुल

काठमाडौं : मेचीनगर नगरपालिका–१२ स्थित हँडिया खोलामा निर्माणाधीन पक्की पुल ढलान गर्दागर्दै भत्किएको छ । दुई वर्षमा निर्माण सक्ने गरी ०६७ मा सुरु भएको पुल नौ वर्ष धकेलिँदासमेत ढलानकै क्रममा भत्किएको हो । ठेकेदारले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको र अनुगमनमा खटिएका सरकारी प्राविधिकले छुट दिँदा पुल नबन्दै भत्किएको स्थानीयको आरोप रहेको नयाँ पत्रिकामा खबर छ ।

स्थानीयसमेत रहेका सुपरभाइजर खगेन्द्र विष्टले आइतबार साँझ ढलानका क्रममा ‘रेडी मिक्स्चर’ले मसला खन्याउँदै गर्दा ‘फ्रेमिङ’ भत्किएको बताए । तर, पुलको पिलरमा समेत बाहिरैबाट फलाम देखिएकाले गुणस्तरहीन काम भएको स्थानीय बताउँछन् ।

पाँच करोड ८७ लाखमा मैनाचुली र लामा निर्माण कम्पनीले ठेक्का पाएको पुलको चारपटकको म्याद थपिएको थियो । अब एक वर्ष फेरि थपिने पक्का भएको छ । निर्माण कम्पनी मैनाचुलीका सञ्चालक मदन अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका व्यक्ति मानिन्छन् ।

अधिकारीले ठेक्का लिएको झापाका कमल, बालुवाखोला र निर्माणाधीन हुलाकी राजमार्गमा पर्ने बिरिङ खोलाको पुलसमेत निर्धारित समयमा सम्पन्न भएका छैनन् । सोही कम्पनीले १० वर्षअघि निर्माण गरेको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको प्रसूतिगृहको दुईतले भवन धराशयी बनेको छ । ०६५ मा निर्माण सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गरेको सो भवन सञ्चालनको एकै वर्षमा चर्किएर पानी चुहिन थालेको थियो ।


प्रकाशित | २३ जेष्ठ २०७६, बिहीबार ०९:४१