एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा

काठमाडौँ । सन् २०२२ मा उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा परेको छ । एसियन फुटबल फेडेरेसन (एएफसी) ले सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ’बी’ मा परेको हो । एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । ताजिकिस्तानमा हुने समूह ’बी’ छनोट खेल आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् । फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।


प्रकाशित | २६ असार २०७८, शनिबार ०६:५८