वातावरण सफा गरेरमात्र हुँदैन, समाजमा रहेका विकृति समेत सफा गर्न आवश्यक छ: मन्त्री बीना मगर

भक्तपुर : खानेपानी तथा सरसफाई मन्त्री विना मगरले समाजलाई रुपान्तरण गर्न वातावरण सफा गरेरमात्र नहुने बताउँदै समाजमा रहेका सवै प्रकारका विकृतिहरुलाई समेत सफा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पुर्याउनुपर्ने बताउनुभएको छ ।

४६औं विश्व वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय, हनुमन्ते नदी सफाई अभियान, सूर्यविनयक गणेस्थान प्रवन्ध समितिलगायतद्वारा आयोजित सरसफाई, पार्क शिलान्यास तथा वृक्षारोपण कार्यक्रमका क्रममा मन्त्री मगरले समाज र राष्ट्र निर्माणको अभियानको महत्वपूर्ण कार्य सरसफाई रहेको बताउँदै हनुमन्ते सरसफाई अभियान देशको सफाईमा मेरुदण्ड भएको बताउनुभयो । उहाँले हनुमन्ते नदी सफाई अभियानले आफ्नो समाज, व्यक्ति वा समुदायमात्र नभई देशकै लागि एउटा महाअभियानको शुरु गरेको जसको प्रेरणाले गर्दा पछिल्लो समय देशभर सफाई अभियानहरु सञ्चालन भइरहेको बताउनुभयो ।

नेपाल सरकारले समेत सरसफाई सप्ताह गरिरहेको जानकारी गराउँदै मन्त्री मगरले समाज रुपान्तरणमा सरसफाई महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । बागमती नदीको सफाई अभियानसँगै हनुमन्ते नदिको सफाई अभियानले व्यापक मात्रामा तिव्रता पाएको बताउँदै उहाँले देशभर नदीमात्र होई गाउँ गाउँ, टोल टोल सफाई भइरहेको र आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

गरे सम्भव हुन्छ भन्ने कुरालाई उजागर गर्दै आम नेपालीमा जनचेतनाको विकास गर्न हनुमन्ते नदी सफाई अभियानले आम नेपाली जनतालाई स्पष्ट पारेको बताउँदै उहाँले भन्नुभयो, ‘नदीको मात्र होइन, आफुनो घर परिवार सफा गर्दै स्वतस्फुर्त रुपमा समाज रुपान्तरण गर्दै अघि बढ्नुपर्छ । काठमाडौँमा केही वर्ष अघिसम्म पङ्खाको आवश्यकता पर्दैन थियो तर अहिले एसिको आवश्यकता पर्न थालेको छ । यो प्रकृतिले अन्याय गरेको नभई मानिसले प्रकृति प्रति गर्ने व्यवहारका कारण वातावरण परिवर्तन भएको हो ।’

वातावरण सफा गर्न आफ्नो घरसँग नै जोडिएको बताउँदै मन्त्री मगरले मानवहरुले गरेको अन्याय नै वातवरण परिवर्तन भएको बताउनुभयो । प्लास्टिक तथा फोहोरहरु हाम्रो घरबाट नै अन्त्य गराउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘हामीले गाउँ वस्तीको फोहोर सफा गर्ने अभियानत शुरु गर्यौ, टोल छरछिमेक सफा राख्नुपर्छ भन्ने चेतनाको त विकास गर्यौ तर यतिले मात्र पुग्दैन । हाम्रो टोलमा टिपिने फोहोरहरु कहाँबाट सिर्जित हुन्छन् । त्यो ठाउँमा गई अन्त्य गराउनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले मैदानमा उत्रिएर देश र जनतको पक्षमा काम गरिरहेको समयमा मानिसले कतिपय कुनामा बसेर गरेको केही टिप्पणी, कसैले अध्यारो कोठामा बसेर सामाजिक सञ्जालमा गरेको अनावश्यक टिप्पणीको जवाफ दिन आवश्यक नरहेको बताउनुभएको छ ।

४६औं विश्व वातावरण दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालय, हनुमन्ते नदी सफाई अभियान, सूर्यविनयक गणेस्थान प्रवन्ध समितिलगायतद्वारा आयोजित सरसफाई, पार्क शिलान्यास तथा वृक्षारोपण कार्यक्रमका क्रममा सांसद बस्नेतले भोलीको पिढिलाई छाति फुलाएर हामीले यो गर्यौ भन्न सक्ने हुनुपर्ने बताउँदै भन्नुभयो, ‘हामीले के गरिरहेका छौं भन्ने कुरा ठूलो हो, जवाफ ठूलो हैन, समाजको उन्नती, प्रगति तथा समृद्धि बनाउने अभियान नै मूख्य कुरा हो । जो अभियानमा छैन, जसले अध्यारो कोठामा बसेर टिका टिप्पणी गरिरहेको छ, तिनिहरुले भोलिको पिढीको सामु शिर झुकाएर हिड्नुपर्छ ।’

हनुमन्ते नदी सफाईले भक्तपुरको गौरवको काम गरेको बताउँदै उहाँले हनुमन्ते नदीको सफाई अभियान समग्र भक्तपुर सफाईको विशेष अभियानको रुपमा सञ्चालन गरिएको बताउनुभयो । उहाँले सफाई सम्बन्धी प्रतिवद्धतामात्र होईन व्यवहारमा लागु गरिरहेको बताउँदै वातावरणमात्र सफा गर्ने नभई मन, भावना, बचन, सफा गर्ने कुरा अभियानले गरेको बताउनुभयो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले जे बोल्छौं त्यो पनि शुद्ध र सफा हुनुपर्ने बताउँदै नकरात्मक भावना नै मुलुकको उन्नतीको लागि बाधक हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘रोजगार दातालाई सम्मान नगर्ने, करदातालाई सम्मान नगर्ने, श्रमलाई सम्मान नगर्ने, सभ्यताको विकास गर्ने जनमानस नभएसम्म मुलुकको हित हुँदैन । वातावरण, खोलालगायतका सफा गर्ने कुरामा मन, प्रयोग गर्ने साधन सफा गर्नु आवश्यक रहेको छ । मुलक समृद्ध बताउन वातावरण, भुगोल खोला सफा गर्ने कुरामा मात्र सिमित हुनु हुँदैन । हाम्रो मन सफा गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।’

कार्यक्रममा प्रदेश नं. तीनका सांसद प्रतिमा श्रेष्ठ, जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलाल, सर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा लगायतले सुभकामना व्यक्त गर्नुभएको थियो ।


प्रकाशित | २२ जेष्ठ २०७६, बुधबार २०:३१