कांग्रेसको मतगणना आज सकिँदै

काठमाडौं-  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणना आज सकिने भएको छ । मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिन लागेको हो । पदाधिकारीको मतपरिणाम सार्वजनिक भएसँगै थालिएको केन्द्रीय सदस्यतर्फको सबैको मतगणना आज सकिने निर्वाचन समितिले जनाएको छ ।

आज दलित, खस– आर्य, आदिवासी जनजातिको गणना हुने बताइएको छ । दलित ९, खस आर्य १३ र जनजाति तर्फ १५ जनासहित ३७ जनाको गणना सकिन बाँकी रहेको र उक्त गणना आज नतिजा आउने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

कांग्रेसमा पदाधिकारीसहित निर्वाचित केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने व्यवस्था छ । सभापतिले मनोनित गर्ने ३३ जनासहित कुल केन्द्रीय समिति सदस्य संख्या १६७ जनाको हुन्छ ।

सभापतिमा शेरबहादुर देउवाले जित हात पार्नुभएको छ भने पदाधिकारीसहित केन्द्रीय समितिमा उहाँकै पक्षको स्पस्ट बहुमत छ ।


प्रकाशित | ७ पुष २०७८, बुधबार १३:१९