पाकिस्तानसँग इंग्ल्याण्ड स्तब्ध

एजेन्सी : पाकिस्तानले इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । सोमबार भएको खेलमा आयोजक इंग्ल्याण्डलाई १४ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो । नटिङघममा पाकिस्तानले दिएको ३४९ रनको फराकिलो लक्ष्य पछ्याएको इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३४ रन मात्र बनाउन सक्यो ।

इंग्ल्याण्डका जोय रुट र जोस बट्लरले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । रुटले १०४ बलमा १० चौका र १ छक्कासहित १०७ रन बनाए । बट्लरले ७६ बलमा ९ चौका र २ छक्कासहित १०३ रन जोडे ।

यस्तै जोनी ब्रैस्टोले ३३,क्रिस वोक्स २१ तथा मोइन अलीले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । पाकिस्तानका वाहब रियाजले ३ विकेट लिए । यस्तै मोहमद आमिर र शादब खानले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद हाफिज, बाबर आजम र सर्फ्राज अहमेदले अर्धशतकीय इनिङ्स खेले । पाकिस्तानको उच्च स्कोरमा हाफिजले ८४, आजमले ६३ तथा कप्तान अहमेदले ५५ रन बनाए ।

यस्तै इमाम उल हकले ४४ तथा फकर जमानले ३६ रन जोडे । इंग्ल्याण्डका क्रिस वोक्स र मोइन अलीले ३/३ विकेट लिए । मार्क वुडले २ विकेट लिए । जितसंगै पाकिस्तानले एकदिवसीय क्रिकेटमा १२ औं खेलमा पहिलो जित निकालेको छ । यसअघि पाकिस्तानले एकदिवसीय क्रिकेटमा लगातार ११ खेलमा पराजय व्यहोरेको थियो ।

यो जितसंगै पाकिस्तानले २ खेलबाट २ अंक जोडेको छ । पाकिस्तान पहिलो खेलमा वेष्ट इण्डिजसंग पराजित भएको थियो । पाकिस्तान तालिकाको छैटौं स्थानमा रहेको छ । इंग्ल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रीकालाई हराएको थियो । इंग्ल्याण्ड पनि २ खेलबाट २ अंक रहेको छ । इंग्ल्याण्ड चौंथो स्थानमा रहेको छ ।


प्रकाशित | २१ जेष्ठ २०७६, मंगलवार ०९:०७