अफगानिस्तानमा रहेका नेपालीहरुको यथाशीघ्र उद्धार गर्न पन्तको सरकारलाई ध्यानकर्षण

काठमाडौं –  गैर आवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अफगानिस्तानमा संकटग्रस्त अवस्थामा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न सरकारको ध्यानकर्षण गराउनु भएको छ । अध्यक्ष पन्तले एक विज्ञप्ति जारी गर्दै संकटग्रस्त अवस्थामा रहेका नेपालीहरुको यथाश्रीघ उद्धार गर्न सरकारको ध्यानर्कषण गराउनु भएको हो ।

अध्यक्ष पन्तले सो विषयमा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सँग पनि छलफल गर्दै ध्यानर्कषण गराउनु भएको छ । मन्त्री कार्कीले यसलाई गम्भीरतापूर्वक लिएको र भोलि बिहानै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर समाधानको उपाय निश्चित गर्ने आश्वासन दिनु भएको पन्तले बताउनु भयो ।

उता सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकको उद्धारको लागि विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको छ । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन आग्रह गर्दै परराष्ट्र मन्त्रालयले नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको हो ।

परराष्ट्रका अनुसार अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइटमा आफ्नो नामसहितको विवरण समावेश गर्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरु पनि सार्वजनिक गरेको छ । उद्धारका लागि +९७७(९७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र + ९७७(९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिनेछ ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा सुरक्षा संकटबीच अलपत्र नेपालीको उद्धारका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरेको  छ ।  परराष्ट्र सचिव भरतराज पौडेलले एक समिति गठन गरिएको जानकारी दिनु भएको हो । अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान छ ।


प्रकाशित | ३१ श्रावण २०७८, आईतवार २२:२०