१३ जना सवार भारतीय सेनाको विमान वेपत्ता

एजेन्सी:  भारतीय वायुसेनाको एक विमान उडान भरेको केही समयपछि वेपत्ता भएको छ । आसामको जोरहाट एयरबेसबाट सोमबार दिउँसो १२ बजेर २५ मिनेटमा उडान भरेको एएन–३२ विमान अरुणाञ्चल प्रदेशको मेचुका एयर फिल्ड माथिबाट सम्पर्कविहीन भएको सैनिक अधिकारीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उडान भरेको करिब ३५ मिनेटपछि वेपत्ता भएको उक्त विमान आसामको जोरहाटबाट अरुणाञ्चल प्रदेशको मेचुकाका लागि उडेको थियो । उक्त क्षेत्र चीनसँगको सीमाना नजिक रहेको छ । दिउँसो करिब एक बजेको समयमा उक्त विमान अन्तिम पटक सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको बताइएको छ । विमानमा चालक दलका आठसहित १३ जना सवार रहेको भारतीय सेनाले जनाएको छ । हराई रहेको विमानको खोजीका लागि भारतीय सेनाको सुखोई–३० र सी–१३० विमान परिचालन गरिएको छ ।

 


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १९:१६