नेकपा सचिवालय बैठक : राष्ट्रियसभामा मनोनित गर्ने रिक्त एक सिटका विषयमा निर्णय हुने

काठमाडौंँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने तय भएको हो । आज बस्ने सचिवालय बैठकको कार्यसूची बारेमा छलफल गर्न बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो ।

बैठकले राष्ट्रियसभामा सरकारबाट मनोनित गर्ने रिक्त एक सिटमा विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ । नेकपा उपाध्यक्ष वामदेव गौतमले आफूलाई उपयुक्त समयमा राष्ट्रियसभामा लैजाने पार्टीको यसअघिको निर्णय कार्यान्वयन गर्न दबाब दिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई दवाव बढेको छ ।

राष्ट्रियसभामा सरकारले मनोनित गरेको कोटामा नियुक्त भएका अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल गत फागुन २० गते सकिएको थियो। सांसद नभए पनि ६ महिनासम्म मन्त्री हुने पाउने संवैधानिक व्यवस्थाअनुसार खतिवडा आगामी शनिबारसम्म मात्र मन्त्री हुन पाउने र त्यो अवधिमा संघीय संसदको सदस्य नभएमा स्वत पदमुक्त हुने व्यवस्था छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई नै सांसद बनाएर अर्थमन्त्रीमा निरन्तरता दिने चाहना देखाए पछि गौतमले पार्टीभित्र अब उक्त स्थानमा आफूलाई पठाउनु पर्ने अडान राख्नु भएको छ । कसलाई सांसदमा मनोनित गर्ने भन्ने विषयमा आज बोलाइएको सचिवालय बैठकले निर्णय गर्ने बताइएको छ ।


प्रकाशित | १८ भाद्र २०७७, बिहीबार ०९:३४