नेकपामा रस्साकस्सीः दाहाललाई पोखरेलको चुनौती

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरूमा महाधिवेशनको रन्को देखिन थालेको छ । नागरिक दैनीकले छापेको समाचारमा लेखिएको छ, पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टीको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् । सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन् ।

पार्टी एकता गर्दा तत्कालीन एमालेको ‘जनताको बहुदलीय जनवाद जबज’ र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा’ दुवैलाई महाधिवेशनमा मात्र बहस गरेर टुंगोमा पुग्ने सहमति गरिएको थियो । महाधिवेशनमा गर्नुपर्ने बहसलाई नेताहरूले नै अहिले सतहमा ल्याएका छन् ।

पार्टीका दुई अध्यक्षमध्ये एक दाहालले कार्यकर्तालाई ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा’मा वैचारिक बहस गर्न निर्देशन दिएपछि नेकपा हाइकमान्ड सचिवालयका सदस्य ईश्वर पोखरेल जबजलाई प्राथमिकता दिएर आगामी नेतृत्वमा आफ्नो अवस्था सुदृढ गर्न लागिपरेका छन् । पार्टी एकीकरण हुनुअघि पोखरेल तत्कालीन एमालेका महासचिव थिए ।


प्रकाशित | १९ जेष्ठ २०७६, आईतवार ०९:२३