धुर्मुस-सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम रोकियो

चितवन : धुर्मुस-सुन्तली फाउण्डेशनद्धारा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकिएको छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार स्थानीयले भत्काइदिएपछि निर्माणको कार्य रोकिएको हो । बुधबार डोजरसहित आएका केही स्थानीयले जस्तापाताले लगाएको बार भत्काएका थिए ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले विज्ञप्ति जारी गर्दै तत्कालको लागि निर्माण कार्य स्थगित गरेको जनाउनुभएको छ । बार भत्काउने क्रममा उनीहरुले धुर्मस–सुन्तली फाउण्डेशनका कर्मचारीहरुलाई धम्कीसमेत दिएको र केहि अराजक ब्यक्तीहरु निर्माण कार्यमा अवरोध गर्न लागिरहेकाले तत्कालका लागि कार्य रोकिएको जनाइएको छ ।

काम गर्ने वातावरण नभएकाले काम स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारी, कामदारको जिउ ज्यान, भौतिक सम्पतिको सुरक्षाको विषयमा खतरा र गम्भीर परिस्थितिको सिर्जना भएको हुँदा यो सम्बन्धमा स्थायी समाधान र कार्यवातावरण तयार नभएसम्मका लागि कामकारवाही स्थगित गरिएको बताइएको छ ।

त्यस्तै, नेकपा चितवले बार भत्काउने कार्यमा संलग्न भएको भन्दै आफनो दुई कार्यकर्तालाई कारवाही गरेको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै उनीहरुलाई पार्टीबाट निलम्बन गरिएको जनाएको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १३:४७