मन्त्रालयको स्वीकृतिबिना नेता, राजदूत तथा कूटनीतिक नियोगसँग नभेट्न गृहको निर्देशन

काठमाडौँ : गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको छ ।

गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञाप्ति जारी गर्दै यस्तो निर्देशन दिनु भएको हो । यस्तो निर्देशनविपरीत कार्य गरे/ गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही गरिने समेत चेतावनी दिइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन हुन अनुरोध छ । साथै यस निर्देशनविपरीत कार्य गरेरगराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

 


प्रकाशित | १४ पुष २०७९, बिहीबार १८:३८