काठमाडोैं : विश्व क्रिकेटको कुम्भमेला आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १२ औं संस्करण आज (बिहिबार) बाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सको विभिन्न सहरमा आयोजना हुने विश्वकपमा १० टोलीको सहभागिता रहेको छ । लण्डनस्थित दि ओभलमा बिहिबार अपरान्ह एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक उद्घाटन हुनेछ ।
विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्याण्ड र दक्षिण अफ्रीकाबीचको खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुनेछ ।
आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रीका दुवै टिम पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले एकदिवसीय वरियताको शीर्ष स्थानको इंग्ल्याण्ड र तेस्रो स्थानको दक्षिण अफ्रीकाबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
११ औं संस्करणको विश्वकप सकिदा दुवै टोलीले एकदिवसीय विश्वकप जित्न सकेका छैनन् । यद्दपि इंग्ल्याण्डले ३ पटक फाइनल खेलिसकेको छ । दक्षिण अफ्रिकाले भने फाइनल यात्रा तय गर्न सकेको छैन । गत संस्करणको विश्वकपमा इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो भने अफ्रिका सेमिफाइनलमा अभागी साबित भएको थियो ।
घरेलु मैदान दि ओभलमा इंग्ल्याण्डले सन् २०१५ देखि कुनै एकदिवसीय खेल हारेको छैन । इंग्ल्याण्ड त्यस जितलाई निरन्तरता दिने लक्ष्यमा हुनेछन् । यता, दक्षिण अफ्रीका पहिलो खेलमा बलियो इंग्ल्याण्डलाई हराएर विश्वकप यात्रा तय गर्न चाहन्छ ।
प्रतियोगितामा उपाधिका लागि १० टिम (इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत, अफगानिस्तान, बंगलादेश, न्युजिल्यान्ड, वेस्टइन्डिज, श्रीलंका, दक्षिण अफ्रिका र पाकिस्तान) प्रतिस्पर्धामा रहनेछन् । प्रतियोगिता इंग्ल्यान्ड र वेल्सका ११ मैदानमा हुनेछन् । प्रतियोगिताको फाइनल लड्र्स मैदानमा १४ जुलाईमा हुनेछ । प्रतियोगिताको लिगचरण ६ जुलाईमा सम्पन्न हुनेछ भने सेमिफाइनलका खेल ९ जुलाईबाट हुनेछन् । पहिलो सेमिफाइनल म्यानचेस्टरमा र दोस्रो बर्मिङघम मैदानमा हुनेछ ।
विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डका कप्तान इयान मोर्गनले खेल्ने नखेल्ने दुविधा रहेको छ । तर, अभ्यासको क्रममा औलाको चोट बोकेका मोर्गनले पहिलो खेल खेल्ने सम्भावना उच्च रहेको छ । यता, दक्षिण अफ्रिकाका अनुभवी फास्ट बलर डेल स्टेन चोटका कारण खेल्ने छैनन् । एजेन्सी
प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार ०६:३९