सुशासन र विकास आजको प्राथमिकता : प्रधानमन्त्री

काठमाण्डौ: प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले गणतन्त्र दिवको अवसरमा शुभकामना ब्यक्त गर्नुहुँदै सुशासन र विकास आजको प्राथमिकता भएको बताउनुभयो । शुभकामना सन्देशमा भन्नुभएको छ, ‘नागरिकको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने सङ्कल्प हामीले लिएका छौंँ । यस सङ्कल्पलाई सार्थक बनाउने सरकारको दृढ उद्देश्य छ । त्यसका लागि विभिन्न, पेशा, क्षेत्र र व्यवसायका नेपालीको बलियो साथ रहनेछ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र कपडा, शिक्षा र स्वास्थ्य एवं सुरक्षा भएको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसले नेपालीलाई गणतन्त्र र जनप्रतिनिधित्वको व्यवस्थाप्रति गौरव गर्न झक्झक्याएको तथा गणतान्त्रिक संस्थाहरूको मर्यादा र गणतान्त्रिक प्रक्रियाको सम्मान गर्न सिकाएको बताउँदै गणतन्त्र जनता सार्वभौमसत्ता सम्पन्न हुने प्रणाली भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले जनताको जीवनमा लोकतन्त्रको सार्थक अनुभूति गराउने अभियानमा विकास, समृद्धि, सुशासन एवं स्थिरता सरकारको मुख्य गन्तव्य भएको तथा गरीबी, विपन्नता, पछौटेपन, सामाजिक उत्पीडन तथा शोषण, विभेद र भ्रष्टाचारविरुद्ध सरकार केन्द्रित रहेको बताउनुभएको छ । वर्तमान प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार दृढ इच्छाशक्तिका साथ समृद्ध नेपालसुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न अग्रसर भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार १०:१६