चलचित्र ‘कीर्तिपुर’ असार १३ गतेदेखि प्रदर्शन

काठमाडौं /केके मानन्धर 

अठारौं शताब्दीको पुर्वाद्धमा तत्कालिन गोर्खाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गरेको विषयमा चलचित्र निर्माण गरिएको छ । चलचित्रलाई असार १३ गतेदेखि देशरभरका सिनेमा हलमा प्रदर्शन गरिने भएको छ । स्व. बासुपासाद्वारा रचित “भैरवसिंह” नामक ऐतिहासिक उपन्यासमा आधारित चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीलाई तथ्यसंगत बनाउन लिखित प्रमाणहरु चलचित्रको शुरु मै प्रस्तुत गरिएको छ । कालखण्डमा प्रकाशन भएका देशी विदेशी लेखकका ऐतिहासिक दस्ताबेजसहितको पुस्तकलाई समेत चलचित्रको आधार बनाइएको छ ।

 चलचित्रमा पटकथा प्रदीप खड्गी तथा केके मानन्धरले संयुक्त रुपमा गरेका छन् भने हिसिला महर्जन, मणि राजलवट, यशराज गराच, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, मदनदास श्रेष्ठ, सुरवीर पंडित, अन्जला नकर्र्मी, मञ्जु श्रेष्ठ, विनोद श्रेष्ठ, संजय शर्मा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ ।

फोकस पिक्चर्सको व्यानरमा निर्माण गरिएको ९० प्रतिशत एनिमेशन भएको चलचित्रमा भीएफ एक्स, एनिमेशन पक्ष सन्तोष केसीले गरेका छन् । हरिशरण साय्मिको संगीत रहेको चलचित्र “कीर्तिपुर” द लिजेन्ड अफ कीर्तिलक्ष्मीका कार्यकारी निर्माता विरेन्द्र ताम्रकार हुन् भने निर्माता क्रमशः प्रेम खड्गी तथा अनन्त श्रेष्ठ हुन् । चलचित्रमा उदय श्रेष्ठले द्वन्द्व निर्देशन गर्नुभएको छ भने अमृत मरहट्ठा तथा दीपसन परियारले श्रृङ्गार पक्ष हेरेका छन् । चलचित्रमा शंकर महर्जन तथा नवीन जोशीले क्यामरा चलाएका छन् ।

चार महिनासम्म सेन्सर सम्बन्धिको समस्या झेलेको चलचित्र अब प्रदर्शनका लागि तयार भएको छ । विभिन्न बहानामा सेन्सर गर्न आनाकानी गरेको सञ्चार मन्त्रालय अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले चलचित्र प्रदर्शनीको लागि युनिभर्सल अनुमती प्रमाण पत्र उपलब्ध गराए पछि कीर्तिपुरको सेन्सर समस्या टरेको छ ।

मंसिरको पहिलो साता चलचित्र विकास बोर्डको हलमा कीर्तिपुरलाई सेन्सरको लागि देखाइएको थियो । त्यसलाई सञ्चार, संस्कृति र गृह मन्त्रालयका प्रतिनिधि तथा कलाकारमाझ प्रदर्शन पुनः देखाएर मात्र सेन्सर पास गराइएको छ । विकास बोर्डको हलमा देखाइएकै बखत प्रदर्शनी अनुमती प्रमाण पत्र दिनु पर्नेमा ४ महिना पश्चात सोही चलचित्रलाई पुनः चैतको दोस्रो साता देखाइए पछि मात्र प्रदर्शनी अनुमती दिइएको छ ।

सेन्सर पास गराउन बोर्डका सम्बन्धित पदाधिकारीलाई एकै पटक देखाए पुग्नेमा कीर्तिपुरको सवालमा दुई पटक सम्म देखाउनु परेको छ । विशेषगरी गृह मन्त्रालयका सह–सचिव लक्ष्मी ढकाल, अन्य २ जना उप–सचिव, सञ्चारका सह–सचिव तथा तत्कालिन सेन्सर बोर्डका अध्यक्ष कविराज खनाल, संस्कृति मन्त्रालयका प्रतिनिधि सम्मिलितको टोलीलाई पुनः चलचित्र देखाए पछि सिमित सम्वाद संशोधन पश्चात चलचित्र प्रदर्शन गर्न भनिएको छ । देशको पछिल्लो तरल राजनीतिक घटनाक्रम र शाह वंश केन्द्रीत गरेर निर्माण भएको चलचित्र भएर पनि सेन्सर पासमा ढिलाई भएको बताइएको छ ।

सेन्सर पासको लागि लामो अवधि सम्म कुर्नु परेको तथा हैरानी व्यहोर्नु परेको चलचित्र सम्भवतः कीर्तिपुर नै भएकोमा स्वयं सम्बन्धित कर्मचारीले स्वीकारेका छन् ।  “कीर्तिपुरलाई सेन्सर बोर्डबाट छुटाउन गरिएको निर्माण टोलीको अथक प्रयास अन्ततः सार्थक भयो ।”चलचित्रका निर्देशक प्रदीप खड्गीको भनाइ छ ।

पटक पटकको फलो अफ अनि सिंहदरबारको कम्तीमा १४ पटकको ओहोरो दोहोरो पश्चात चलचित्रलाई सेन्सर पास गराउन सफल भएको निर्देशक खड्गीले बताए । “चलचित्र सेन्सर गराउन तत्कालीन सूचना तथा सञ्चार मन्त्री डा। मिनेन्द्र रिजाल समेतको गुहार माग्नुपर्यो ।” कला निर्देशक केके मानन्धरले गुनासो पोखे । स्वभाविक सहज ढंगले सकिनुपर्ने नियमित काममा सम्बन्धित पक्षले आनाकानी गर्नु जायज नभएको कला निर्देशक मानन्धरको भनाई छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १५:२७