भारतीय लोकसभा चुनावको परिणाम नआउँदै मोदीलाई प्रधानमन्त्री ओलीले दिए बधाई

काठमाडौं : भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी रहँदै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको छ । बिहीबार उहाँले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनु भएको हो। प्रधानमन्त्री ओलीले लेख्नु भएको छ, ‘लोकसभा चुनाव २०१९ मा प्रचण्ड जितका लागि प्रधानमन्त्री मोदीजीलाई बधाई दिन चाहन्छु । साथै उहाँको आउँदो कार्यकालको सफलताको कामना गर्दछु । तपाईँसँग सहकार्य गरेर अघि बढ्ने आशा राख्दछु ।’

भारतीय पमतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ३०० भन्दा बढी सिटमा अगाडि रहेको छ । बीजेपी एक्लै २८० भन्दा बढी सिटमा अगाडि रहेको छ । कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) १०० आसपास सिटमा अगाडि रहेको छ भने अन्य दल १०० भन्दा बढी सिटमा अगाडि रहेका छन् । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन २७२ सिट आवश्यक पर्छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १४:५९