एमसिसी देशको हितविपरीत छ, संसदबाट पारित हुनै सक्दैन : लिलामणि पोखरेल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजना देशको हितविपरीत भएकाले संसदबाट पारित हुनै नसक्ने बताउनुभएको छ ।

‘एमसिसी देशको हित विपरीत छ, यो संसदबाट पारित हुनै सक्दैन’, सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पोखरेलले भन्नुभयो । एमसिसी नेपाललाई नयाँ प्रकृतिको उपनिवेश बनाउने उद्देश्यले आएकाले कुनै पनि हालतमा नेपालले अनुमोदन गर्न नसक्ने दावी गर्नुभएको छ ।

साथै नेता पोखरेलले नेपालका नेताले मुलुकको हितमा बोल्नुपर्ने र विदेशको हितमा बोल्न नहुने बताउँदै देशको विकास र सुरक्षाको विषयमा चिन्ता लिन सबैलाई आग्रह समेत गर्नुभयो । नेता पोखरेलले पार्टीको स्थायी कमिटी बैठकबाट पनि एमसिसी अस्वीकृत हुने बताउनुभयो ।


प्रकाशित | १२ असार २०७७, शुक्रबार १२:०२