मेस्सीले बालोन डी.ओर जित्न सक्ने तीन आधार

एजेन्सी :  बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेस्सीले पाँच पटक प्रतिष्ठित अवार्ड बालोन डी’ओर जितिसकेका छन् । मेस्सी यस सिजनको बालोन डी’ओर अवार्डका पनि मुख्य दाबेदार खेलाडी हुन् । यस पटकको बालोन डी’ओर जितेमा मेस्सीले छैटौं पटक अवार्ड उचाल्दै कीर्तिमान बनाउने छन् ।

बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन उत्कृष्ट खेल प्रर्दशन गरेका मेस्सीले यस पटकको अवार्ड जित्ने सम्भावना प्रबल छ । मेस्सीले यस सिजन बार्सिलोनालाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राउन भने सकेन । जसको कारण मेस्सीले बालोन डी’ओर जित्ने आशंका गर्न थालिएको छ । तर, मेस्सीले बालोन डी’ओर जित्ने केहि आधारहरु छन् । मेस्सीले यस पटक बालोन डी’ओर जित्ने मुख्य ३ कारणहरु यसप्रकार छन् ।

१. कमजोर प्रतिस्पर्धी 

बालोन डी’ओर अवार्ड जित्ने मुख्य आधार भनेको च्याम्पियन्स लिग र लिग खेलको प्रदर्शन मुख्य मानिन्छ । दुवै लिगमा मेस्सीको व्यक्तिगत प्रदर्शन धेरै माथि रहेको छ ।  यस सिजनमा अविश्वसनीय प्रर्दशन गरेका मेस्सीले २२ पटक ‘म्यान अफ द म्याच’ अवार्ड जितेका छन्  । जुन अन्य खेलाडीको तुलनामा धेरै अघि हो । उनको अविश्वसनीय प्रर्दशनले बार्सिलोनाले ला लिगाको उपाधि जित्यो । उनले क्लबलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्मको यात्रा तय गराए ।

मेस्सीलाई टक्कर इन्ग्लिश क्लब लिभरपुलका डिफेन्डर भान डिज्क भिर्गील रहेका छन् ।  भिर्गील प्रिमियर लिगमा सिजनको उत्कृष्ट खेलाडी समेत बनेका छन् । भिर्गीलले लिभरपुललाई च्याम्पियन्स लिगको फाइनल यात्रा तय गराईसकेका छन् । तर, उनले क्लबलाई प्रिमियर लिग जिताउन भने सकेनन् ।

२. रोनाल्डोको सामान्य प्रदर्शन 

प्रतिष्ठित अवार्ड बालोन डी’ओर अवार्ड अहिलेको पुस्ताका दुई स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको व्यक्तिगत खेलौनाको रुपमा रहेको छ । किनकि पछिल्लो १० वर्षमा यस अवार्ड दुवै खेलाडीले समान ५/५ पटक जितेका छन् । गत सिजन भने दुवै खेलाडीलाई पछि पार्दै लुका मोड्रिचले यस अवार्ड जिते ।

तर, यस सिजन युभेन्ट्सका रोनाल्डो बालोन डी’ओर भन्दा केहि बाहिर पुगेका छन् । स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब पुगेका रोनाल्डोले यस सिजन उच्च प्रदर्शन गर्न सकेनन् । रोनाल्डोले युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका भने खेलेका छन् । उनले यो सिजन २१ गोल मात्र गरे । यस्तै च्याम्पियन्स लिगमा ६ गोल मात्र गरे । रोनाल्डोको टिम युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको थियो ।   यस सिजन रोनाल्डोको प्रदर्शन उच्च नहुँदा मेस्सीलाई भने फाइदा पुगेको छ । तुलनात्मक रुपमा रोनाल्डोको खराब सिजन बन्दा मेस्सीले बालोन डी’ओर जित्ने सम्भावना रहेको छ ।

३. सर्वाधिक गोल

गोल मेसिन मानिने मेस्सीले यस सिजन आफ्नो अविश्वसनीय गोलको तथ्यांकलाई कायम राख्न सफल भए । मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० गोल गरे । ला लिगामा यस सिजन सर्वाधिक गोल गर्ने खेलाडी बन्दा मेस्सीले ३६ गोल गरे । जसको कारण मेस्सीले पिचीची अवार्ड समेत हात पारे । मेस्सीले यस सिजन च्याम्पियन्स लिगमा पनि १२ गोल गरेका छन् । जुन यस सिजनको सर्वाधिक गोल समेत हो ।

यस सिजन ला लिगामा ३६ गोल गरेका मेस्सी युरोपियन क्लब फुटबलको गोल्डेन बुट दाबेदार खेलाडी समेत हुन् । मेस्सीले गोल्डेनबुटका लागि पेरिस सेन्ट जर्मेनका केलियन एमबाप्पेलाई ४ गोलले पछि बनाएका छन् ।


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १४:१५