किरिया नगर्दा गाउँनिकाला, परिवारका सबै विस्थापित

काठमाडौं: बुबाको काजकिरिया नगरेको भन्दै गाउँलेले सामाजिक बहिष्कार गरेपछि बारा धरमपुरको एउटा परिवार विस्थापित भएको अन्नपूर्ण पोस्टमा खबर छ । सुवर्ण गाउँपालिका ६ धरमपुर गाउँका अवधेश यादवका बुबा अनुठा यादवको वैशाख १५ कलैया अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

६१ वर्षीया अनुठाको हृदयघातका कारण उपचारका क्रममा निधनपछि उनका दुई छोरा अवधेश र पप्पुले आफ्नो घरपरिवारले अपनाउर्दै आएको कविरापन्थी धर्म अनुसार सात दिनमै किरियाकर्म सकेका थिए। बुबाको अन्त्येष्टिमा दुवै छोराले कपाल खौरिएका थिएनन्।

बुवाको काजकिरिया सामाजिक परम्परा र हिन्दु धार्मिक रीतिरिवाज अनुसार नगरेपछि गाउँका अगुवाले गाउँमा भेला गरेर परिवारलाई नै सामाजिक बहिष्कार गरेका हुन्। गाउँले भेला भएर सामाजिक बहिष्कार गर्ने उर्दी जारी भएपछि परिवार नै गाउँ छोड्न बाध्य भएको हो।

यादव परिवार अहिले हेटौंडाको कमानेमा बस्दै आएको छ। ‘मेरो बुबाले ५० वर्षदेखि कबिरापन्थी धर्म अपनाउदै आउनु भएको थियो’, अवधेशले भने, ‘बुबाकै इच्छा अनुसार हामी दुई दाजुभाइले अन्त्येष्टिका दिन कपाल खौरिएनौँ, १३ दिने करिया पनि बसेनौँ।’

स्थानीय विद्यानन्द यादव, हृदयनारायण राउत, भरोसी राउत, गणेश यादव, मुन्सी यादव, वैद्यनाथ गिरी, श्री निवास बरै, रामाधार राउत सहितकाले गाउँले बोलाएर परिवारलाई सामाजिक बहिष्कार गर्न उर्दी जारी गरेको अधवेशले बताए।

आफ्नो परिवारसँग अ‍ैचोपैचो वा बोलचाल गर्ने वा खेतमा मजदुरी गर्न जानेलाई ५० हजार आर्थिक दण्ड गर्ने उर्दी पनि उनीहरुले जारी गरेको अवधेशको भनाइ छ।

गाँउको भेलाले नै सामाजिक बहिष्कार गरेपछि अवधेशको परिवार गाउँको घर र सेलर मिलमा ताल्चा लगाएर गाउँबाट विस्थापित भएको हो।


प्रकाशित | २७ बैशाख २०७६, शुक्रबार ०७:२५