राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणना सुरु

काठमाडौँ । देश संघीय संरचनामा गएपछि पहिलोपटक आजबाट राष्ट्रिय जनगणना सुरु भएको छ । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको गणना गरी जनगणनाको प्रारम्भ गरिएको हो । राष्ट्रपतिको जनगणना गर्न तथ्यांक विभागका गणकहरु शीतलनिवासमा पुगेका थिए । गणकहरुले सोधेका प्रश्नको राष्ट्रपति स्वयम्ले जवाफ दिनु भएको थियो ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठसहित गणकको टोलीले शीतलनिवास पुगेर गणना गरेका हुन् । हरेक १० वर्षमा सञ्चालन गरिने जनगणना यसपटक आगामी मङ्सिर ९ गतेसम्म जारी रहने केन्द्रीय तथ्याङ्क विभागले जानकारी दिएको छ । जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ७७ जिल्ला जनगणना कार्यालय र त्यसअन्तर्गत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको विभागले जनाएको छ । जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनु भयो ।

जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भनका लागि औसतमा २० मिनेट लाग्ने बताइएको छ । यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने विभागले जनाएको छ ।


प्रकाशित | २५ कार्तिक २०७८, बिहीबार १२:०५