एनआरएनए निर्वाचन: हालसम्म १४ जनाको मात्रै उम्मेदवारी दर्ता, उम्मेदवारलाई प्रस्तावक र समर्थक पाउनै मुस्किल

काठमाडौँ: गैर आवासीय नेपाली संघ (एनआरएनए) को विहीबारदेखि उम्मेदवारी दर्ता सुरु भएकोमा शुक्रबार बेलुकासम्म १४ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुई दुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारलाई भले प्रस्तावक र समर्थक पाउन मुस्किल परेको बताएका छन् । एक जना उम्मेदवारका लागि सशरीर दुई जना प्रस्तावक र दुई जना समर्थक आवश्यक पर्छन् ।

४१ सय ९२ जना प्रतिनिधिहरुले नेपाल र विदेशबाट गरी मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने भए पनि काठमाडौंमा प्रतिनिधिको संख्या विगतको तुलनामा एकदमै पातलो रहेको छ । जसका कारण पनि उम्मेदवारलाई प्रस्तावक र समर्थक जुटाउन हम्मेहम्मे परेको हो ।

अध्यक्षमा शर्माको मात्रै उम्मेदवारी दर्ता

अध्यक्षको लागि अहिलेसम्म कतारस्थित व्यवसायी आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

त्यस्तै, जापानका गोविन्द प्रसाद श्रेष्ठले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नु भएको छ । संघका वर्तमान प्रवक्ता सोम सापकोटाले उप महासचिवमा उम्मेदवारी दर्ता गराउँदा हङकङ्ग निवासी राधिका गुरुङले आइसीसी महिला सचिवमा उम्मेदवारी दर्ता गर्नु भएको छ ।

जापानका पारसमणी पोखरेलले सचिव पदमा मनोनयन दर्ता गर्नु भएको छ भने अमेरिकाका सिपी पौडेलले सह कोषाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ । जापानका शिव पौडेलले एसिया प्रशान्त संयोजकमा तथा प्रदीप न्यौपानेले एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमै मनोनयन दर्ता गराउनु भएको छ ।

सुरेन्द्र घिसिङले युवा संयोजकमा, अस्ट्रेलियाका दिनेश पोखरेलले क्षेत्रीय संयोजकमा, अरुण कुमार ठाकुरले ओशियना उप संयोजकमा मनोनयन दर्ता गर्नु भएको छ । यस्तै गोकुल घिमिरेले ओसियना उपसंयोजकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशन यही १७ अक्टोबरदेखि काठमाडौँमा शुरु हुँदैछ भने निर्वाचन प्रत्यक्ष तथा अनलाइन माध्यमबाट अक्टोबर १९ तारिखमा सम्पन्न हुनेछ।

डेलिगेट्स दर्ताको शुल्क घट्यो

यसैबीच एनआरएनए केन्द्रीय कार्यालयले डेलिगेट्स दर्ताको शुल्क भने घटाएको छ । यसअघि २ सय अमेरिकी डलर तय गरिएकोमा विहीबार साँझ बसेको आइसीसीको बैठकले नेपाली १५ हजार रुपैयाँ मात्रै दर्ता शुल्क तोकेको हो ।


प्रकाशित | २६ आश्विन २०८०, शुक्रबार २३:२३