तीन अर्बको अप्टिकल फाइबर परियोजना सुरु: ३२ जिल्ला सदरमुकाम र स्थानीय तहमा जोडिँदै

काठमाडौं :  नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले सोमबारदेखि २ हजार १ सय ७९ किलोमिटर लामो अप्टिकल फाइबर विस्तारको काम सुरु गरेको छ । कम्पनीले अप्टिकल फाइबर विस्तारको पहिलो खण्डअन्तर्गत मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्याङदेखि गोरखाको आरुघाटसम्म काम सुरु गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङबाट अप्टिकल फाइबर विस्तार शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले डिजिटल नेपाल अभियानका लागि अप्टिकल फाइबर विस्तारको कार्य एउटा खुड्किलो भएको भन्दै यसले विकासमा ठूलो टेवा पु¥याउने बताए ।

डिजिटल नेपाल निर्माणका लागि सूचना प्रविधिको प्रयोगबाट आधुनिकीकरणमा जान सकिने उनले बताए । सूचना प्रविधिको पहुँच तल्लो तहसम्म पु¥याउन र यसबाट आयआर्जनमा जोडिन पनि उनले विकल्प सोच्न सेवा प्रदायक कम्पनीहरूलाई आग्रह गरेका छन् । आफू प्रधानमन्त्री भएदेखि एक वर्षको समय नीति निर्माण र आधार तय गर्दा गएको भन्दै आगामी दिन विकास निर्माणका काममा लक्षित हुने दाबी पनि गरे । कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले चियो भञ्ज्याङदेखि आरुघाटसम्मको काम सुरुवात भएको भन्दै मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम सडक खण्ड हुँदै सहर र सहरोन्मुख क्षेत्रलाई यो परियोजनाले समेट्ने बताएका छन् । यो समाचार आजको कारोबार दैनीकमा सरस्वती ढकालले लेख्नुभएको छ ।

सूचना प्रविधिको प्रयोगले समाजलाई रूपान्तरण गर्नसक्ने, आयआर्जन गर्न सकिने, शिक्षा, स्वास्थ्यको पहुँचमा सहयोग पुग्ने भन्दै देशको आर्र्थिक विकास आईसीटी तथा टेलिकम क्षेत्रको योगदान बढ्दै गएको बताए ।नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको साढे दुई वर्षपछि टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउन सुरु गरेको छ । धादिङ, सिन्धुली र धनकुटाबाट एकैसाथ फाइबर विस्तारको काम सुरु हुने कम्पनीले जनाएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले कम्पनीसँग साढे २ वर्ष अगाडि परियोजना सम्पन्न गर्न करिब ३ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने गरी सम्झौता भएको बताए ।

“प्राधिकरण र टेलिकमबीच सम्झौता भएको साढे २ वर्ष भयो तर उसले ठेकेदार कम्पनीसँग सम्झौता गरेको एक महिनामात्रै भएको छ,” उनी भन्छन्, “ठेकेदार कम्पनीसँग सम्झौता भएको १८ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको छ कम्पनीले निर्धारित समयमै काम सम्पन्न गर्नुपर्छ ।” सरकारले अगाडि सारेको डिजिटल नेपालको अभियानमा यो परियोजना सहयोगी बन्ने उनको भनाइ छ । टेलिकमले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको चियो भञ्ज्याङदेखि गोरखा र धादिङको सिमाना आरुघाटसम्म अप्टिकल फाइबर विस्तार गर्नेछ । यसका लागि टेलिकमले विभिन्न ५ वटा कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ ।

प्रदेश १ मा ५ सय ९६ किलोमिटर अप्टिकल फाइबर बिछ्याउन टेलिकमले कोरियाली कम्पनी एलएस कल्ससँग ठेक्का सम्झौता गरिसकेको छ । त्यस्तै प्रदेश २ मा १ हजार २८ किलोमिटर फाइबर विस्तारका लागि अरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेल र चाइना फ्युलको जोइन्ट भ्यान्चरसँग सम्झौता गरेको छ । प्रदेश ३ मा ४ सय ५५ किलोमिटरमा फाइबर बिछ्याउन हङकङको चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल ‘सीसीईसआई’ सँग सम्झौता गरेको टेलिकमले जनाएको छ ।

फाइबर विस्तारका क्रममा आवश्यक पर्ने उपकरणका लागि सीसीएसआई र सिंगापुरको सीटीएस कम्युनिकेसनसँग सम्झौता भएको छ । दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम परिचालन गरी अप्टिकल फाइबर विस्तार गर्न टेलिकमसँग २०७३ असोज दोस्रो साता सम्झौता गरेको थियो । परियोजना सम्पन्न भएपछि तीन प्रदेशका ३२ जिल्ला सदरमुकाम र स्थानीय तह अप्टिकल फाइबर सञ्जालमा जोडिनेछन्


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार ११:०८