चाँगुनारायण नगरबासीलाई अक्सिजन र रगत निशुल्क उपलब्ध गराइने

भक्तपुर : चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निशुल्क अक्सिजन र रगत उपलब्ध गराउने भएको छ । नगर प्रमुख जीवन खत्रीले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममार्फत नगरबासीलाई निशूल्क रगतको ब्यवस्था र चाँगुनारायण अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादन भएको अक्सिजन निशुल्क उपलब्ध गराउने ब्यवस्था गराउनु भएको हो ।

त्यस्तै, नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यहरु प्राप्त हुने योजना तथा कार्यक्रमहरुलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुका साथै क्षेत्रगत तथा विषयगत कार्यक्रमबीच समन्वय कायम गर्ने मेयर खत्रीले उल्लेख गर्नु भयो । नगरपालिकाले अल्पकालीन, मध्यकालीन तथा दिर्घकालीन योजनाहरुलाई प्राथमिकताका आधारमा अघि बढाउने रणनीति लिएको छ ।

यस्तै गौरबका आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने तथा नयाँ आयोजनाबारे सम्भाव्यता अध्ययन गरिने नीति रहेको छ । विभिन्न सन्चालित आयोजनाहरुलाई तोकिएकै समयभित्र सम्पन्न गर्न नगरपालिकाले कडाई गरेको छ । नगरपालिकाका सबै वडामा सडक सञ्जाललाई उच्च प्राथमिकतामा राख्ने मेयर खत्रीले बताउनु भयो ।

नयाँ करिडोर आयोजना प्रारम्भ गर्ने, सार्वजनीक यातायात प्रणालीलाई सुदुढ र ब्यवस्थित बनाउन उपत्यकाभित्रका अन्य स्थानीय तहसँग समन्वय, सहकार्य र साझेदारी गरी एकीकृत सार्वजनीक यातायात योजना कार्यान्वयनमा ल्याउन पहल गर्ने उल्लेख छ । महादेव खोला बहुआयामीक परियोजनालाई कार्यान्वयन गर्ने र मुहान पोखरी तथा विश्वम्भरालाई जलाधार क्षेत्र घोषणा गरी उद्यान निर्माणको लागि पहल गर्ने नगरपालिकाको योजना छ ।

त्यस्तै, विपन्न परिवारलाई विद्युतीय चुल्हो उपलब्ध गराउन आवश्यक ब्यवस्था मिलाउने, पूर्वस्वीकृति विना नगरक्षेत्रमा जग्गा जमीन सम्याउने, भूसंरचना विगार्ने वा जग्गा खण्डीकरण गर्ने कार्यलाई निषेध गरिने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२÷०८३ को पूर्व तयारीका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ ।

सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, सामुदायिक विद्यालयमा नगर विद्यालय बस साझेदारी कार्यक्रम सञ्चालनका लागि अनुदान दिइने, बचत खाता छोरीको सुरक्षा जिवनभरिको कार्यक्रमलाई निरन्तरता दिइने, शिक्षक विद्यार्थी अधिकतम अनुपात ३० कायम गरिने उल्लेख छ ।

घर नक्सापास गर्दा सेप्टी टयांकी निर्माण र २ वटा रुख रोप्नुपर्ने नीतिलाई निरन्तरता दिने, नगर प्रमुखसँग प्रमुख प्रशासकीय अधिकृतले, प्रमुख प्रशासकीय अधिकृतसँग शाखा प्रमुखले कार्यसम्पादन सम्झौता गर्नेलगायत १९० वटा बुँदा नीति तथा कार्यक्रममा मेयर खत्रीले समेट्नु भएको छ ।


प्रकाशित | ११ असार २०८०, सोमबार २२:०४