सिजनको अन्तिम खेलमा बार्सिलोना एइबारसँग बराबरीमा रोकियो

एजेन्सी: स्पेनिस ला लिगाअन्तर्गत जारी सिजनको अन्तिम खेलमा लिग च्याम्पियन बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको लिगको ३८औं साताको खेलमा बार्सिलोना अवे मैदानमा एइबारसँग २–२ को बराबरीमा रोकिएको हो ।

एइबारको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पछि परेको स्थिति उल्टाएर अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अन्तिम खेलमा अंक बाँड्न बाध्य भयो ।घरेलु टोली एइबारले खेलको २०औं मिनेटमा मार्कको गोलबाट अग्रता लिएको थियो । तर, त्यसपछि पाहुना टोली बार्सिलोना खेलमा फर्कियो ।

उसका लागि खेलको ३१औं मिनेटमा कप्तान मेस्सीले टिमका लागि बराबरी गोल गरे । फेरि लगत्तै ३२औं मिनेटमा मेस्सीले र्न व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई १–२ को अग्रता दिलाए ।

तर, पहिलो हाफको अन्तिम समय ४५औं मिनेटमा एइबारका पाब्लोले दर्शनीय गोल गर्दै खेल २–२ बनाए । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट थप गोल भएन । र, खेल २–२ मा टुंगियो ।यो बराबरीसँगै दुवै टिमले १–१ अंक बाँडे ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०७:५५