सिजनको अन्तिम खेलमा रियल स्तब्ध

एजेन्सी: स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा रियल म्याड्रिड घरेलु मैदानमा रियल बेटिससँग पराजित भएको छ । सान्टियागो बर्नाबाउमा रियल २-० ले पराजित भयो । प्रशिक्षक जिनेदिन जिदानले लगातार खेलमा वेल्सका फरवार्ड ग्यारेथ बेललाई मैदानमा उतारेनन् । पछिल्ला खेलमा टोलीमा समावेश नभएका बेल यस खेलमा बेन्चमा रहेपनि मैदानमा उत्रन भने पाएनन् । रियलको आक्रमणमा करीम बेन्जेमासँगै ब्राहिम डियाज र भिनीसियस जुनियर रहेका थिए । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको ६१ औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै पाहुना टोली बेटिसलाई अग्रता दिलाए । उनले आन्द्रेस गुआरडाडोको पासलाई सदुपयोग गरेका थिए । खेलको ७५ औं मिनेटमा रियलका पूर्व खेलाडी जेसेले अग्रता दोब्बर पारे । रियलको जारि लिग सिजनमा यो १२ औं हार हो ।

लिगको अंक तालिकामा रियल ६८ अंकसाथ तेस्रो स्थानमा रहयो । ३८ खेलमा रियलले २१ जित, ५ बराबरी र १२ हारको नतिजा निकालेको हो । लिगको शीर्षस्थानमा रहेर एक खेल कम खेलेको बार्सिलोनाभन्दा रियल १८ अंकले पछाडी रहयो । दोस्रो स्थानको एटलेटिकोले रियललाई ८ अंकले पछाडी पारेको हो । खराब सिजनसँगै यसपटक ट्रान्सफर विन्डोमा प्रशिक्षक जिनेदिन जिदानले मोटो रकम खर्चने अपेक्षा गरिएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १९:३९