राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमाअन्त्येष्टि गरिएको छ । राष्ट्रकविको सम्मान स्वरुप नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । यसअघि राष्ट्रकवि घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

आज बिहान राष्ट्रकवि घिमिरेकै निवासमा पुगेर उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । श्रद्धाञ्जली व्यक्त गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायत कला साहित्य साधक र सर्वसाधारण पनि घिमिरे निवास पुगेका थिए ।

घिमिरेको कपुरधारा स्थित आफ्नै निवासमा हिजो साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । स्वास प्रश्वास समस्या देखिएपछि चार महिनादेखि अक्सिजन दिएर घिमिरेको घरमै उपाचार भइरहेको थियो ।

१९७६ साल असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे १३ बर्षको उमेरबाटै साहित्यमा लाग्नुभएको थियो ।

नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली बढी प्रयोगमा ल्याउने घिमिरेलाई साहित्य साधकले गीतकार, गीति नाटककारका साथै बालसाहित्यकारका रुपमा पनि चिन्छन्।

घिमिरेको निधनमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहले पनि घिमिरेको निधनप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।


प्रकाशित | ३ भाद्र २०७७, बुधबार १३:०७