चिया क्षेत्रमा २७ वर्षे विवाद अन्त्य

मनिषा चम्लागाईँ /काठमाडौं 

झापा र इलामका चिया बगान पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग चिया मजदुरले विगतको दुःखमात्र बिसाएनन्, नयाँ पारिश्रमिक लागू भएपछिको खुसी पनि सँगै साटे । लामो सकसपछि चिया उद्योगीलाई श्रम ऐनअनुसार नयाँ पारिश्रमिक लागू गर्न उद्योगीले सहमति जनाएसँगै कामदारमा खुसीको सीमा छैन । डेढ महिनासम्म आन्दोलन गरेका मजदुरका माग सम्बोधन भएसँगै त्यसको ‘क्रेडिट’ लिन मन्त्री विष्ट शुक्रबारदेखि झापा र इलाममा छन् ।

मन्त्री विष्टले दुवै दिन इलाम र झापाका चिया उद्योगको अनुगमन गरेका हुन् । मन्त्री विष्टले इलामको गोर्खा चिया कमान, कन्याम चिया कमान, इलाम चिया कमान र झापाको बर्ने चिया कमान, गिरी बन्धु चिया कमान, सम्शेर एण्ड गंगादेवी चिया कमानको अनुगमन गरे । उनको आगमनसँगै यसअघि श्रम ऐन लागू गर्ने सहमति भए पनि सञ्चालनमा नआएका नेपाल चिया विकास निगम व्यवस्थापनका कन्याम र इलाम कमान समेत सञ्चालनमा आएका छन् ।

बगान सञ्चालकले आफ्नो अडानबाट पछि हट्दै शुक्रबारदेखि नै सञ्चालनमा आउने सहमति गरेका छन् । संघाई समूहले नेपाल सरकारबाट ४० वर्षका लागि बगान भाडामा लिएका हुन् । संघाईको व्यवस्थापनमा इलाम र झापाका सात वटा चिया कमान सञ्चालनमा छन् । २०४७ सालदेखि चिया मजदुरले न्यूनतम ज्यालाको माग गरेर बारम्बार आन्दोलन गर्दै आएका थिए । श्रम ऐन लागू भएसँगै चिया क्षेत्रमा रहेको २७ वर्षे विवाद अन्त्य भएको हो ।  यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ  ।

सुवास संघाई सञ्चालक रहेको कमानले श्रम ऐन कार्यान्वयन गर्न नमानेपछि आफैं अनुगमनमा आएको मन्त्री विष्टले दावी गरे । कन्याम चिया कमानमा भएको छलफलमा व्यापारघाटा कम गर्न, आन्तरिक रोजगारी सिर्जना गर्न र पर्यावरणीय सन्तुलन कायम राख्न चिया क्षेत्रको ठूलो महत्व रहने मन्त्री विष्टले बताए । आउने बजेटमा उद्योगीका माग सम्बोधन नभए फेरी पनि बगान बन्द गर्ने चर्चा चलिरहेको अवस्थामा मन्त्री विष्टले भने, “बजेट आउनजेलसम्मका लागि उद्योग खोल्नु भएको हो भने आजै बन्द गर्नुहोस् ।” सरकारको तर्फबाट सकेजति सम्बोधन हुने आश्वासन दिँदै विष्टले कसैलाई चित्त नबुझे बन्द गरेर समस्या खडा नगर्न चेतावनी दिए ।

मन्त्री विष्टले सरकार, रोजगारदाता र श्रमिकको त्रिपक्षीय सहमतिमा श्रम ऐन ल्याइएको दावी गर्दै साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा ऐन पनि लागू गर्ने जानकारी दिए । “यो संसदले पारित गरेको कानुन हो, हुबहु कार्यान्वयन गर्ने विषय पनि हो, कार्यान्वयनको विषयमा कसैले आनकानी गर्न मिल्दैन, पसिना बगाएर काम गर्ने श्रमिकले कुनै पनि अवस्थामा सरकारले तोकेको ज्याला र सुविधा पाउनै पर्छ,” उनले भने, “वृद्धि भएको ज्याला एकमुष्ठ दिन समस्या हुन्छ भने किस्ताबन्दीमा दिन सक्नुहुन्छ, तर नदिने भन्ने अप्सन अब तपाईहरूसँग छैन ।” मन्त्री विष्टले कन्याम चिया कमानलाई अन्तर्राष्ट्रियस्तरको नमूना चिया कमान बनाउन लागिपर्न पनि सञ्चालकलाई सुझाव दिए ।
मजदुरको दुखेसो मन्त्रीसँग

इलामको कन्याम चिया कमानका कार्यरत मजदुर विष्णुप्रसाद भट्टराईले श्रम ऐन कार्यान्वयनको माग राख्दा व्यवस्थापनले जागिरबाट निस्कासन गरेको अनुभव सुनाए । अर्का मजदुर नर्बदा निरौलाले बगानमा फेरि आन्दोलन गर्न बाध्य नपार्न सञ्चालकलाई अनुरोध गरिन् । २०५७ सालमा निजीकरण भएको नेपाल चिया विकास निगमअन्तर्गत कन्याम चिया कमानमा ९२ जना स्थायी र ८६ जना मौसमी मजदुर कार्यरत छन् । यस्तै, सरस्वती चम्लागाईँले मजदुरको अवस्था सुनाइन् । विहान ४ बजेदेखि बेलुका टर्च बालेर काम गरेको सम्झँदै नयाँ श्रम ऐनअनुसार ज्याला पाउन आन्दोलन नै गर्नु परेको गुनासो गरिन् ।

यता, इलाम चिया कमान सोमबारदेखि सञ्चालनमा आउने सञ्चालक संघाईले जानकारी दिएका छन् । जेठ १५ गते आउने बजेटले आफूहरूको पनि माग सम्बोधन हुने उनको अपेक्षा छ । उनले ऋणको ब्याज मिनाहा, मल बीउमा अनुदान, झन्झटिलो भन्सार प्रक्रियामा सुधारलगायत समस्या सम्बोधन हुनुपर्ने माग राखे ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०९:२०