गैर आवासीय नेपाली संघ अमेरिकाको निर्वाचन प्रक्रिया शूरु

न्यूर्याक: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचन प्रक्रिया शूरु भएको छ । एनआरएनको आगामी २०१९/०२१ कार्यकालको लागि नयाँ नेतृत्वको चुनाव शूरु भएको हो । एनआरएनको एनसिसीमध्ये अमेरिकाको पहिलो निर्वाचन प्रक्रिया शूरु भएको हो ।

लोकतानित्रक प्रक्रियालाई अबलम्बन गर्दै विभिन्न वाधा र ब्यवधानका बावजुत अमेरिकाको निर्वाचन शूरु भएको हो । विशेष गरि निवर्तमान अध्यक्ष डा केशव पौडेलको सफल नेतृत्वले निर्वाचन गराउन सफल भएको छ ।

चुनाव हुने र नहुने अन्यौताकाबीच अमेरिकाको निर्वाचन प्रक्रिया शूरु गरिएको हो । मतदान आज बिहान ८ बजेदेखि भोली १२ बजेसम्म चल्ने छ । अमेरिका निर्वाचनमा ९ हजार भन्दा बढी मतदाता छन् । यहाँ अनलाइन प्रणालीबाट मतदान शूरु गरिएको हो ।

एनआरएनए अमेरिका अध्यक्षका प्रत्यासी तिनै जनाका प्रतिनिधि सम्मिलित छानबिन समितिले गलत ढङ्गले कुनै सदस्य छिराउने, विवरण राख्ने र पैसा तिर्ने काम कहीँ कतैबाट नभएको ठहर गरेपछि विवादका बीच निर्वाचन शूरु गरिएको हो । शुक्रवार राती एनआरएनए अमेरिकाका संयोजक गौरीराज जोशीले छानवीन समितिको प्रतिवेदन बुझनु भएको थियो । छानबिन समितिले ड्यासबोर्ड बनाएर काम थाल्नु अगाडि सदस्य बनेका र लाइफ मेम्बरहरू नदेखिएको तर गलत ढङ्गबाट कुनै पनि सदस्य नबनेकाले निर्वाचनमा जान छेकबार नलाग्ने भएपछि निर्वाचन शूरु गरिएको जोशीले बताउनुभयो ।

आरसी जोशीले शुक्रवार राती नै अध्यक्षका तीनै जना उम्मेदवारहरूसँग कुरा गरेर निर्वाचनमा सबैको सहभागिता गराउन प्रयास गर्नुभएको थियो । डाटा भेरिफिकेशन समितिमा विनय अर्याल, पदम भण्डारी, दिनेश शर्मा, विजय भट्टराई र ओम भट्टराई सम्मिलित रहेका थिए । पाँचै जनाले निर्वाचनमा जान रोकिनु पर्ने कुनै ठुलो कारण नभेटिएको पाएपछि निर्वाचनमा गएको हो ।

निर्वाचन शूरु गर्ने कार्यमा विशेष गरि एनआरएन महासचिव डा. बद्री केसी, अमेरिकाज क्षेत्रीय संयोजक गौरीराज जोशी, एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेल, आइसिसी सल्लाहकार हरिबोल भण्डारीलगायतको विशेष योगदान रहेको छ । एनआरएन अमेरिकामा अध्यक्षका लागि सुनिल शाह, सञ्जय थापा र सूर्य लम्साल प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तो छ एनआरएन अमेरिका अध्यक्ष डा. केशव पौडेलको चुनाव शूरु हुनुभन्दा अगाडिको बिज्ञप्ति, 

आदरणीय अमेरिकावासी एनआरएनप्रेमी दाजुभाई तथा दिदीबहिनीहरु,
नमस्कार ।

प्रवासी नेपालीहरुको साझा संगठन एनआरएनए अमेरिकाको सबलतामा तपाईं सम्पूर्ण महानुभावरुको लगाव प्रति अनुग्रहित छौं । अहिले हामीमाझ तथ्यपरक सुचनाहरुभन्दा ब्यक्तिगत हल्ला र अनर्गल प्रचारहरुको बाढी आएको छ । तर हल्ला र खबरहरुमा हामीले सत्यता खोज्नु जरुरी छ ।
अमेरिकाको कानुन अनुसार बिधीवत दर्ता भएको प्रवासी नेपालीहरुको सर्वप्रिय संस्था एनआरएनए अमेरिकाको नियमित प्रकृयालाई सुचारु गर्न र सो प्रकृयाको बैधानिक बाटोस्वरुप निर्वाचन गराउन सम्मानित अदालतले दिएको निर्देशन, बिभिन्न समितिहरुको अहोरात्रको मेहनतपछि अब निर्वाचन समितिको मातहतमा चुनाव गराउने एउटै जिम्मेवारी बांकी रहेको जानकारी गराउन चाहन्छु ।

आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, 

एनआरएनए अमेरिकाको शक्तिशाली साधारण सभाले निर्माण गरेको निर्वाचन समिती, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्नाका लागि गठित सुपरिवेक्षण समिती, सदस्यता भेरीफिकेशन समिती र पून: निर्वाचन समितिमा अन्तर्निहित ‘ब्यक्तिगत गोपनियताको विवरण’ अहिले एउटा दु:ख लाग्दो पक्ष बनेको छ । कानुनको राज्य अमेरिकामा त्यो अपराध र अमान्य हो, यो कुरामा एनआरएनए अमेरिकाको कार्यसमिती र मेरो गहिरो ध्यान केन्द्रित भएको छ ।

एनआरएनए अमेरिका सत्यताको बाटोमा सदैव हिड्ने एउटा छाता संगठन भएकोले ‘ब्यक्तिगत गोपनियताका बिवरण’ गैरकानुनी रुपमा सार्वजानिक भएको बिषयमा हामीले गम्भिरताका साथ छानबिनका प्रकृया शुरु गरेको जानकारी गराउन चाहन्छु । कसैले गोपनियताको त्यो सुचना सार्वाजानिक गर्ने हर्कत र सौदाबाजी गरेको प्रमाण भए कृपया हामीलाई सुचना प्रदान गराइदिनुहुन म यसै वक्तब्यमार्फत सार्वजानिक अनुरोध गर्दछौ ।

एउटा संस्थाको असल बाटो नियम, अनुशासन र संस्थाप्रतिको लगावले तय भएको हुन्छ । यो निश्चित बाटोमा ईमान्दारिता र समर्पण मात्र हिड्दछ, न कि ब्यक्तिगत आक्षेप, दुराशय र बेईमानी । समर्पण र ज़िम्मेवारीताको सवाललाई ह्रृदयमंगम गर्दै साधारण सभाले प्रत्याभुती गरेको अधिकार, एनआरएनए अमेरिकाको आफ्नो बिधानभन्दा बाहिर गएर सार्वाजानिक भएको ‘गोपनियताको ब्यक्तिगत विवरण’ को छानवीनको प्रारम्भिक प्रकृया शुरु भईसकेको र यथाशाक्य सार्वाजानिक गरिने प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

पुनश्च: ब्यक्तिगत विवरणको गोपनियता चुहावटको अनुसन्धानका लागि प्राविधिक एवम कानुनी परामर्श शुरुवात भईसकेको जानकारी गराउंदछु तथा गोपनियताका सुचना चुहावट गर्नेहरुमाथी अमेरिकी कानुन अनुसार सबै प्रकारका कारवाही हुने स्पष्ट पार्न चाहन्छु । दोषीलाई कानुनी कठाघारामा उभ्याउन यहाँहरुले प्राप्त गर्नुभएका सुचना लगायत दोषीमाथी कारवाहीका लागी यहाँहरुका सबै प्रकारका सहयोगको हार्दिक अपेक्षा गर्दछु ।

धन्यवाद !
जय एनआरएनए

डा. केशव पौडेल
अध्यक्ष
एनआरएनए एनसिसी अमेरिका ।

यस्तो छ, एनआरएन आइसिसी सल्लाहकार हरिबोल भणडरीको चुनाव शूरु हुनुभन्दा अगाडिको बिज्ञप्ति

आदरणीय अमेरिकाबासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाईहरू,

धेरै ठुलो उतार चढाब र शंकाको भुमरीमा रोमलिन र मडारिन खोजेको गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचन पुर्व घोषित तालिकानुसार नै सम्पन्न हुने जानाकारी यहॉंहरूलाई गराउन पाउँदा हर्ष बिभोर भएको छु।

अन्तिम समयमा मात्र समास्याको निराकरण गर्दै बॉंकि यात्रालाई पुर्ण बिराम गर्ने चलन हिजोआज नेपाली समाजको एउटा परम्परा जस्तै बनेको छ। पछिल्लो समयमा आएको समस्या र त्यस पछाडी क्रमश तिब्र रूपमा बिकसित घटनाक्रमले हामी सबैलाई अबश्य दुखी तुल्याएको थियो, तर हामीले सो बिषयहरूलाई गम्भीर ढंगले शुष्म अध्ययन,अनुसन्धान र बिज्ञहरू संगको परामर्श, छलफल सहित ठोस निष्कर्ष निकालेका छौ।

फुटमा होईन जुटमा, असहमतिमा होईन सहमतिमा,अनिर्णयमा होईन निर्णयमा मात्र हामी सबैको हित र जित हुन्छ भन्ने उखानको चरित्रार्थलाई पुन: फेरी एक पटक अमेरिकन नेपाली समुदायका सामाजिक अभियन्ताहरूले प्रमाणित गरिदिएका छन्। हिजो देखि २४ घण्टा सम्मको निरन्तर खटाईबाट निस्किएको निर्णय भोलीका दिनमा समेत हाम्रा लागि एक उदाहरण हुनेछ। साथै प्रवासको नेपाली समाजको निम्ति यो यात्रा एउटा कोशे ढुंगा सावित होस्। त्यसैले, आउनुहोस् आज र भोली गरी दुई दिनमा सम्पन्न हुने गैर आवसीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचनमा हामी सबैजना सहभागी बनौ।

धन्यवाद !
जय नेपाल !!
जय एनआरएनए अमेरिका !!!

हरिबोल भण्डारी
(सल्लाहाकार)
गैर आवसीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १९:४७