नेकपाको संगठनमा ३४ सय ८८ लाई जिम्मेवारी

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन्। २६औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित कार्यक्रममा जनसंगठन एकीकरण सम्पन्न भएको घोषणा गरिएको हो। महासचिव विष्णु पौडेलले जनसंगठनका संयोजक, सहसंयोजक र केन्द्रीय कमिटीको संख्या सार्वजनिक गरेको नयाँ पत्रिकामा खबर छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार सम्पन्न सचिवालय बैठकले जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको थियो। सचिवालय बैठकले २३ जनसंगठनमध्ये पूर्वएमालेलाई १६ र पूर्वमाओवादीलाई ६ वटा जनसंगठनको नेतृत्व हुने गरी भागबन्डाको टुंगो लगाएको हो। मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न बाँकी छ।

पुच्छर हटाएर जनसंगठनको नयाँ नाम, तोकियो केन्द्रीय कमिटी संख्या साबिक एमाले र माओवादीको जनसंगठन एकीकरणसँगै केन्द्रीय सचिवालयले नयाँ संगठनको नाम पनि अनुमोदन गरेको छ। जनसंगठनहरूको पूर्वनामको पुच्छर हटाएर अधिकांशको नयाँ बनाइएको छ। पूर्वएमाले समूहले नेतृत्व पाएको अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय छ। त्यस्तै, नेपाल भूमिहीन सुकुम्बासी संगठन ९९ सदस्यीय, अनेरास्ववियु २ सय ५१ सदस्यीय तोकिएको छ। ट्रेड युनियन महासंघ नेपाल, पेसागत महासंघ नेपाल, जनसांस्कृतिक महासंघ नेपाल २ सय ५१ सदस्यीय तोकिएको छ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार ०६:५७