निर्वाचनको घोषणाले लोकतन्त्र विरोधीहरू अत्तालिए : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले ‘सूर्य चिह्न पाउँ भनेर निर्वाचन आयोगमा जान प्रचण्डलाई लाज लाग्नु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रचण्डले सूर्य चिह्न मेरो भन्न नमिल्ने बताउँदै भन्नुभयो, ‘सूर्य चिह्न पाउँ भनेर निर्वाचन आयोगमा जान प्रचण्डलाई लाज हुनुपर्दैन । प्रचण्ड सूर्य चिह्नमा कहिलै लडेका छन् चुनाव ? अर्कै चिह्नबाट चुनाव लडेकाले सूर्य चिह्न मेरै हो भन्न मिल्छ ?’ २०७४ को चुनावअघि एउटै चुनाव चिह्नमा लडौँ भन्दा नमानेका प्रचण्डले अहिले सूर्य चिह्न मेरो भनेको भन्दै प्रधानमन्त्रीले आश्चर्य व्यक्त गर्नुभयो ।

काठमाडौँमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थप्दै भन्नुभयो, “केपी ओली वैशाखपछि राजनीतिमा देखिने छैनन् रे !’ “यिनीहरुले के केसम्म गरे । नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो ।” प्रधानमन्त्री ओलीले जनताको बीचमा जाने कुरा लोकतन्त्र विरोधी नहुने बरु, जनतामा नजाने कुरा लोकतन्त्र विरोधी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसद्को निर्वाचन गरेर देश बर्बाद हुँदैन । बर्बात त देशलाई बर्बात पार्न खोज्ने केही स्वार्थीहरूको स्वार्थलाई पर्छ ।’ उहाँले निर्वाचनको घोषणाले लोकतन्त्र विरोधीहरू आत्तिएका बताउनुभयो ।

प्रधानमन्त्री ओलीले चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाउनुभएको छ । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो हुन्छ र उस्तो हुन्छ भन्न थालेका छन्’ उहाँले भन्नुभयो, ‘म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरु जस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन ।’

‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्याय, संविधानका कुरा गर्ने रु सडकबाट फैसला दिनुहुन्छ कि संवैधानिक इजलासबाट रु ‘उहाँहरुले जे भन्यो, त्यही हुनुपर्ने हो भने अदालत किन चाहियो ? ‘


प्रकाशित | २५ पुष २०७७, शनिबार २०:०१