बाढी पहिरोबाट एक महिनामा ८८ जनाको मृत्यु

काठमाडौँ :  बाढी र पहिरोको प्राकृतिक विपत्तीमा परी विगत एक महिनायता ८८ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोजन्य घटनामा परी अझै ३२ जना बेपत्ता रहेका छन् । जेठ ३० गतेदेखि आजसम्म विभिन्न १९ जिल्लामा बाढी र पहिरोमा परी ८८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

जस अनुसार सबैभन्दा धेरै म्याग्दीमा हिजो गएको पहिरोमा परी २७ जनाको मृत्यु भएको छ । त्यहाँ अझै चार जना हराइरहेका छन् । सिन्धुपाल्चोकमा गएको पहिरोमा तीन जनाको मृत्यु भएको छ । अझै २० जना बेपत्ता रहेका छन् । जाजरकोट पहिरोमा परी नौ जनाको मृत्यु भएको छ ।  छ जना अझै बेपत्ता छन् ।

त्यस्तै, कास्कीमा गएको पहिरोमा परी सात जनाको मृत्यु भएको छ । त्यसअघि पर्वतको पहिरोमा नौ जनाको र बझाङको पहिरोमा सात जनाको मृत्यु भएको छ । अझै एक बेपत्ता छन् । पाल्पामा चार जना र गुल्मीमा पाँच जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् ।

त्यस्तै, लमजुङमा चार जनाको, रुकुम पश्चिममा दुई र दार्चुलामा दुई जनाको मृत्यु भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । त्यसैगरी स्याङ्जा, गोरखा, बाग्लुङ, डोटी, कालिकोट, सल्यान, झापा, चितवन र सुर्खेतमा बाढी पहिरोमा परी  एक/एक जनाको मृत्यु भएको छ । विपदग्रस्त जिल्लामा उद्धार तथा राहतको लागि केन्द्र, प्रदेश र स्थानीय तहको समन्वयमा कार्य भइरहेको जनाइएको छ ।


प्रकाशित | २८ असार २०७७, आईतवार ०९:२३