कालोसूचीमा सबैभन्दा बढी मलेसियाली रोजगादाता: रोक्का गरिएका ६७ मध्ये मलेसियाकामात्रै ५२ रोजगारदाता

गोपाल संग्रौला

नेपाली श्रमिक माग गर्ने प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगादातालाई कालोसूची (रोक्का) मा राखिएको पाइएको छ । सम्झौताअनुसार श्रमिकलाई सेवासुविधा नदिएका कारण अन्य प्रमुख श्रम गन्तव्यमध्ये सबैभन्दा बढी मलेसियाका रोजगारदाता रहेका छन् ।
नेपाली श्रमिक माग गर्ने मुख्य श्रम गन्तव्य कतार, साउदी अरब र यूएईमध्ये सबैभन्दा बढी मलेसियाली रोजगारदाताले नेपाली कामदारसँग गरिएको सम्झौता उल्लघंन गरी नेपाल सरकारले कालोसूचीमा राखेको पाइएको छ । अन्य ३ श्रम गन्तव्यमध्ये ७९ प्रतिशतभन्दा बढी कालोसूचीमा मलेसियाका रोजगारदाता रहेका छन् । बाँकी २१ प्रतिशत रोजगारदाता कतार, साउदी अरब र यूएईका रहेका छन् ।

वैदेशिक रोजगार विभागले सन् २०१९ जनवरीसम्म अद्यावधिक गरेको तथ्यांकमा मलेसिया, कतार, साउदी अरब र यूएईका ६७ रोजगारदातालाई कालोसूचीमा राखिएको छ । जसमध्ये ५२ वटा रोजगादाता मलेसियाकामात्र रहेका छन । बाँकी कालोसूचीमा परेकामध्ये यूएईका ६, साउदी अरबका ५ र कतारबाट ४ रोजगारदाता परेका छन् । वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईंका अनुसार श्रमिक माग गर्ने क्रममा नेपालमा रहेका मेनपावर कम्पनीसँग गरेको सम्झौता अनुसार नेपाली युवालाई सेवासुविधा नदिएमा नेपाल सरकारले श्रम गन्तव्यमा रोजगारदातालाई कालोसूचीमा राख्ने गरिएको छ । “नेपाली श्रमिकलाई माग गर्दा एक प्रकारको सम्झौता गर्ने र त्यहाँ सोहीअनुसार सेवा सुविधा नदिने रोजगारदातालाई नेपालले कालोसूचीमा राख्ने गरेको छ,” उनले भने, “ठूलो संख्यामा एकै रोजगारदाताकोमा काम गर्ने नेपाली युवाको सेवा सुविधाका सम्बन्धमा भिागमा उजुरी परेमा समेत कालोसूचीमा राख्ने गरिएको छ ।

मलेसियाका सफाई, फर्निचर, निर्माण र तयारी पोशाक कम्पनीहरूलाई सरकारले कालोसूचीमा राखेको छ । कतार, साउदी अरब र यूएईको तुलनामा मलेसियामा रहेका विदेशी कामदार आपूर्ति गर्ने संस्था सरकारी नियन्त्रणभन्दा बाहिर हुने र कामदार आपूर्ति गर्ने विषयमा बढी चलखेल हुने गर्दछ । हालै नेपाल सरकारले मलेसियामा श्रमिक पठाउने सम्बन्धमा सरोकार राख्ने निजी क्षेत्रका सेवाप्रदायक संस्थालाई कारबाही गरेको भए पनि मलेसियाका बिचौलियाले नेपाल सरकारको निर्णयविरुद्ध विभिन्न चलखेल गर्दै आएका छन् । पछिल्लो समय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसियाको बायोमेट्रिक गर्ने संस्थालाई कारबाही गरे पनि नेपालस्थित मलेसियाली दूतावासले पुनः त्यही संस्थामार्पmत श्रमिकको स्वास्थ्य परीक्षण गराउनु पर्ने बताउँदै आएको छ ।

विभागले सार्वजनिक गरेको रोक्का रोजगारदाताको सूचीका मलेसिया स्थापना भएका ग्लोबल कम्पनीसमेत रहेका छन् । जोहरबारुमा रहेको म्याक्लिन गार्मेन्ट, क्वालालम्पुरमा रहेको केएफसी होल्डिङ, सुवाङजयामा रहेको एएचएम सेक्युरिटी कम्पनी, सेलांगोरको सीएस मेटल कम्पनीलगायत रहेका छन । यसैगरी यूएईको अल हमेद कन्ट्रक्सन कम्पनीलगायत अन्य सफाई कम्पनी रहेका छन् । कतारको रियादमा रहेको कतार अरब कन्ट्याक्टर, कतारकै टिमवर्क कन्ट्रक्टिङ एन्ड रियल इस्टेट कम्पनीलगायत रहेका छन् । यसैगरी, साउदी अरबका इष्टर्न हेरिटेज कन्स्ट्रक्टिङ कम्पनीलगायतका सफाई कम्पनी रहेका छन् । नेपाल सरकारले सार्वजानिक गरेका रोक्का रोजगादातामध्ये अधिकांशले सफाई र कामदार आपूर्ति गर्ने गरेका छन् ।

विवरण अद्यावधिक गर्न समय थप

वैदेशिक रोजगार विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिमपटक समय थप गरेको छ । विभागले इजाजतप्राप्त म्यानपावर कम्पनीलाई यही वैशाख २३ देखि २९ गतेसम्म आफ्नो कम्पनीको विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । तोकिएको समयावधिभित्र विवरण अद्यावधिक गर्न नसकेका म्यानवापर कम्पनीको आग्रहमा विभागले पुनःम्याद थप गरेको हो । विभागका प्रवक्ता भोलानाथ गुरागाईंले विवरण अद्यावधिक गर्न छुटेका मेनपावर कम्पनीले आगामी जेठ ३ गतेसम्म विवरण भर्न सक्ने जानकारी दिए । थप गरिएको समयवधिभित्र विवरण अद्यावधिक नगरेमा त्यस्ता म्यानपावर कम्पनीको अनलाइनमार्फत सञ्चालन हुने सम्पूर्ण कारोवार बन्द गरिने विभागले चेतावनी दिएको छ ।

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । मेनपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जाललगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । विभागले नियमविपरीत काम गर्ने २०७ म्यानपावरको दर्ता खारेजी गरेको छ । ८० भन्दा बढी मेनपावर कम्पनीले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आफ्नो विवरण अद्यावधिक नगरेको विभागले जनाएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०९:२९