चर्चित ब्राण्डका नाममा कम्पनी खोल्न प्रतिबन्ध लगाइने

काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले बौद्धिक सम्पत्तिसम्बन्धी कानुन ल्याउने तयारी गरिरहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले प्रतिलिपी अधिकारबारे ऐनमा उल्लेख भए पनि कार्यान्वयन नहुँदा उद्योगी व्यवसायीले चर्चित ब्राण्डको नाममा कम्पनी खोल्ने गरेको बताए । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल–भारत फ्रेन्चाइज इन्भेस्टमेन्ट एक्स्पो र कन्क्लेभको उद्घाटन गर्दै मन्त्री खतिवडाले उद्योगी व्यवसायीको बौद्धिक सम्पत्तिको रक्षा गर्न मन्त्री सरकारले ऐन ल्याउने तयारी गरेको बताए । उनले बौद्धिक सम्पत्तिसम्बन्धी कानुनको मस्यौदा तयार भइसकेको र मन्त्रिपरिषदबाट पारित गर्ने तयारी भइरहेको पनि जानकारी दिए ।

बौद्धिक सम्पत्तिको मुद्दाका कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न हिचकिचाउने गरेको लगानी सम्मेलनमा भाग लिएका लगानीकर्ताले बताएका थिए । नेपालका अदालतमा पनि यससम्बन्धी मुद्दा चलिरहेको छ । आफ्नो व्यापारिक चिन्ह (ट्रेडमार्क) अर्कै कम्पनीले हत्याएर मुद्दामा गएपछि प्रख्यात जापानी कम्पनी कान्साईको सहायक कम्पनी कान्साई नेरोल्याकले नाम नै फेरेर केएनपी बनाएको छ ।

उद्योग विभागमा सोही नामको ट्रेडमार्क दर्ता भएकाले कान्साई नेरोल्याकले आफ्नो ट्रेडमार्कमा हकदाबी गर्दै उद्योग विभागदेखि सुरू गरेको कानुनी लडाईं उच्च अदालत पुग्दासमेत आफ्नो पक्षमा पार्न सकेको छैन । कान्साई नेरोल्याकको ट्रेडमार्कको मुद्दाका कारण पनि विदेशी लगानीकर्ता नेपाल आउन हच्केको केएनपीका स्थानीय साझेदार अशोक बैदले बताउँदै आएका छन् । कार्यक्रममा भारतीय राजदूत मञ्जीभसिंह पुरीले नेपालमा पछिल्लो समय नयाँ लगानीकर्ताका लागि काम गर्न थप सहज भएको बताए । यो समाचार आजको कारोबार दैनीकमा छ ।

यसैबीच, लगानी प्रबद्र्धन गर्न सरकारले एकल बिन्दु सेवा केन्द्रसमेत सञ्चालनमा ल्याएको छ । उद्योगमन्त्री मातृकाप्रसाद यादवले बुधबार सेवा केन्द्रको उद्घाटन गरेका थिए । २५ वर्षपछि सञ्चालमा आएको सेवा केन्द्रबाट उद्योग दर्तासम्बन्धी सम्पूर्ण कार्यहरु जस्तै, उद्योग दर्ता, कम्पनी रजिष्ट्रार, वातावरण प्रभाव मूल्याङ्कन (ईआईए), विदेशी लगानी तथा प्रविधि हस्तान्तरण, विदेशी व्यवसायीलाई भिसा प्रक्रिया, पूर्वाधार, जग्गा प्रशासन, निर्यात, भन्सार, बैंकलगायतका सेवा एकै स्थानबाट प्रदान हुने निर्देशिकामा लेखिएको छ । ४१ जना कर्मचारी रहने सेवा केन्द्रले उद्योग दर्ता गर्न आउने सबै प्रकारका सेवा एउटै भवनबाट उपलब्ध गराउने भएको हो ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०९:२२