‘मेस्सी क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डद्वारा सम्मानित

एजेन्सी:स्पेनिस बार्सिलोनाका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई प्रतिष्ठित अवार्ड प्रदान गरिएको छ । ३१ वर्षीय अर्जेन्टिनी मेस्सीलाई स्पेनको एक स्वायत्त क्षेत्र ९राज्य० का रूपमा मान्यताप्राप्त क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डद्वारा सम्मानित गरेको हो। यो अवार्ड ‘क्याटलान अवार्ड’का नामले पनि परिचित छ ।

यो अवार्ड केही समयअघि मात्रै जनमतसंग्रहबाट अलग राज्यका रूपमा स्थापित क्याटलान (सहर) सरकारले प्रदान गरेको हो । यो अवार्ड अहिले क्याटलान सरकार मातहत छ । यससँगै यो अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर बनेका छन् । यसअघि यो अवार्ड सन् २००६ मा फुटबल जोन क्रुइजफलाई पनि प्रदान गरिएको थियो ।

अवार्ड समारोहमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउलगायत क्लबका अन्य अधिकारीसमेत सहभागी थिए ।फुटबलका माध्यमबाट क्याटलानको समृद्धिमा विशिष्ठ योगदान दिएको, विभिन्न च्यारिटी तथा सामाजिक कार्यमार्फत् समाजलाई उच्च योगदान दिएको भन्दै मेस्सीलाई यो अवार्ड प्रदान गरिएको हो ।

क्याटलुनियाँका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई यो विशिष्ठ अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण गर्न मेस्सी आफ्ना परिवारसहित पुगेका थिए ।पछिल्लोपटक युरोपियन च्याम्पियन्स लिगबाट बार्सिलोना आउट भएयता मेस्सी निराश थिए । तर, अघिल्लो दिन यो प्रतिष्ठित अवार्ड ग्रहण गर्दा भने उनी सधैंझैं हाँसीखुसी देखिएका थिए ।


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार ०९:१७