संसद विघटनविरुद्ध विपक्षी दलहरुले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने

काठमाडौं । विपक्षी दलहरुले ससद् विघटन गर्ने कार्य असंवैधानीक भएको भन्दै आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमका विरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन । आज बिहान ११ बजे संसद् भवनमा भेला भएर विपक्षी गठबन्धनका सांसदहरू अदालत जाने तयारी छ ।

उक्त भेलामा वकिलहरूले तयार पारेको प्रारम्भिक रिटबारे छलफल हुनेछ। साथै, रिट निवेदनमा हस्ताक्षरसमेत संकलन गरिनेछ। रिट लेखन र हस्ताक्षर संकलन कार्य आज नसकिएमा भोलि भए पनि उनीहरू सर्वोच्च जाने तयारी गरेका छन् । गठबन्धनका शीर्ष दलहरुले १४९ जना सांसदको हस्ताक्षर संकलन गर्ने दावी गरेका छन् ।

केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान पौने २ बजे संसद् भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनावको घोषणा गर्नु भएको छ । त्यसको विरोधमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल समूह, जसपा र राष्ट्रिय जनमोर्चासहितका विपक्षी गठबन्धनहरु एकजुट भएका हुन ।


प्रकाशित | ९ जेष्ठ २०७८, आईतवार ०८:१६