संगठनको एकतासँगै ‘एक युवा, एक रोजगारी’को अभियान सञ्चालन गर्ने युवा संघ नेपालको घोषणा

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले संगठनको एकतासँगै एक युवा एक रोजगारीको महाअभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । जेष्ठ १ गते युवा संघको २९ औं स्थापनाको अवसरमा आज संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पौडेलले एकता भएसँगै ‘एक युवा, एक रोजागारी’ अभियान सञ्चालन गर्ने घोषणा गर्नुभएको हो ।

मातृ पार्टीले लिएको भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको सिद्धान्तलाई आत्मसात् गर्दै भ्रष्टाचार, सामाजिक विकृति तथा विसंगतिको विरुद्ध देश व्यापी जागरण अभियान सञ्चालन गर्ने बताउनुभयो । वाइसिएल र युवा संघको एकताको अन्तिम चरणमा रहेको जानकारी गराउँदै उहाँले सम्भवत जेष्ठ ३ गते संगठनको एकताले मुर्त रुप पाउने समेत बताउनुभयो । संगठनको एकतासँगै आफ्ना गतिविधिहरु गाउँ गाउँसम्म पुर्याउने बताउनुभयो । संगठनको एकताका साथमा देशमा भएका विभिन्न प्रकारका विकृति, विसंगती, भ्रष्टाचार, हिंसा, बलात्कार, आतंककारी कृयाकलाप विरुद्धको पहिलो आन्दोलन÷अभियान सञ्चालन गर्ने बताउनुभयो ।


प्रकाशित | ३१ बैशाख २०७६, मंगलवार १९:१०