नेकपाका दुवै पक्षले गरेको मागदाबी विधानसम्मत नभएको निर्वाचन आयोगको ठहर

काठमाडौँ — निर्वाचन आयोगले नेकपाका दुवै पक्षले बिबरण संशोधनका लागि गरेको मागदाबी विधानसम्मत नभएको ठहर गरेको छ । आइतबार बसेको आयोगको बैठकले दुवै पक्षले बिबरण संशोधनका लागि गरेको मागदाबी विधानसम्मत नभएको ठहर गरेको हो ।

आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को साबिककै विवरण कायम रहेको जानकारी दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डलाई दिने निर्णय गरेको छ ।

आयोगले विवरण हेरफेर, संशोधन, परिवर्तन हुन सक्ने देखिएको जनाएको हो । योसँगै आयोगले नेकपाको दुबै समूहको गतिबिधि समानान्तर मात्र भएको जनाएको छ । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र दाहाल हुनेछन् ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनमा जाने निर्णय गरेपछि दुई अध्यक्ष ओली र दाहालले अलग–अलग समूह बनाउनुका साथै एकले अर्कालाई कारबाही गर्नेलगायतका निर्णय गरेका छन् । आजै प्रचण्ड माधव समूहले ओलीलाई पार्टीबाट साधारण सदस्यता समेत नरहने गरि कारवाही गर्ने निर्णय गरेको छ ।


प्रकाशित | ११ माघ २०७७, आईतवार २२:११