इतिहासकै सबैभन्दा खराब मोडमा रियल मड्रिड

एजेन्सी: आफ्ना सर्वाधिक सफल र कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डो गत सिजनको अन्त्यसँगै रियल मड्रिड छाडेर इटालियन युभेन्टस गएपछि रोनाल्डोबिना रियल २१औं शताब्दीकै सबैभन्दा खराब मोडमा पुगेको छ । ।रियल सन् १९९८÷९९ सिजन यता सबैभन्दा खराब समयमा आइपुगेको छ ।

जारी सिजन रियलमा रोनाल्डोको आवश्यकता अभाव टार्ने गोलकर्ता खेलाडी नहुँदा उसले पछिल्ला २० वर्षमा सबैभन्दा खराब सिजन बिताइरहेको छ । उपाधिका हिसाबले हेर्दा रियल यो सिजन ठूला उपाधिमा ‘नील’ नै भयो, शिवाय क्लब विश्वकप फुटबल ।

रियल औपचारिक रूपमा यो सिजन घरेलु लिग ला लिगा, युरोपियन च्याम्पियन्स लिग र कोपा डेल रे फुटबलबाट आउट भइसकेको छ । त्यसअघि उसले मध्यसिजनमा क्लब विश्वकप जितेको थियो ।यो दौरान रियलमा पोर्चुगिज फरवार्ड रोनाल्डोको चर्को अभाव देखियो ।

सन् २००९ देखि २०१८ सम्म गरी ९ वर्ष बेर्नाबउमा बिताएका रोनाल्डोले त्यस दौरान क्लबका लागि ४३८ खेलबाट कूल ४५० गोल गरेका थिए । उनी क्लबका सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।रियलले पछिल्ला पाँच सिजनमा चार सिजन युरोपियन च्याम्पियन्स लिग जित्दा रोनाल्डो हरेक सिजन नायक बनेका थिए । तर, गत सिजन

उनलाई रियलले बिक्री गरेपछि रियलको दुर्दशा सुरु भयो ।यो सिजन मात्रै रियलले ३ जना प्रशिक्षक प्रयोग गर्यो । गत सिनजको अन्त्यसँगै जिनेदिन जिदानले छाडेपछि रियलले जुलेन लोपेटेगुईलाई प्रमुख प्रशिक्षक बनाए पनि बीचमा उनलाई बर्खास्त गरेर सान्टियागो सोलारीलाई टोलीको कमान्ड जिम्मा दियो । तर, सोलारीको पालामा पनि रियलका दिन सुध्रिएनन् ।

गत रातिको हारसँग रियल लिगमा लिग च्याम्पियन बार्सिलोनाभन्दा १८ अंकले पछि परेको छ, जुन २१औं शताब्दीकै सबैभन्दा खराब अवस्था हो । यो सिजन रियलले सबैखाले प्रतियोगिता गरेर कूल १७ खेल हारेको छ, जुन सन् १९९८ यताको सबैभन्दा खराब सिजन हो ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार २२:२३