एसईई नतिजा शतप्रतिशत पुर्याउन कागेश्वरी मनोहरा नगरपालिकाद्धारा कक्षाकोठामा सिकाइ सुधार योजना सुरु, एनजी उन्मुलन गराउन पाँच बुँदे प्रतिवद्धता

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिकाले एसईईको नतिजालाई शतप्रतिशत पुर्याउन कक्षाकोठामा सिकाइ सुधारको योजना सुरु गरेको छ । नगरपालिकाले कक्षा १० को अन्तिम परीक्षा एसईईमा एनजी उन्मुलन अभियान सुरु गरेर कक्षाकोठामा विद्यार्थीको सिकाइ सुधारको थालनी गरेको हो । विद्यार्थीको सिकाइ सुधार गर्न नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिका अध्यक्षलाई जिम्मेवार बनाएर शुक्रबारदेखि सिकाइ सुधारको योजना शुरु गरेको छ ।

सिकाइ कमजोर भएका विद्यार्थीलाई उपचारात्मक कक्षा चलाएर नगरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने कुनै पनि विद्यार्थीको एनजी आउन नहुने नीति अनुसार सुधारको योजना सुरु गरेको नगरपालिकाका मेयर उपेन्द्र कार्कीले जानकारी दिनु भयो । नगरपालिकाले सिकाइ सुधार गर्न शुक्रबार प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षलाई एनजी उन्मुलन गराउन पाँच बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्न लगाएको छ । प्रतिवद्धतामा चालू शैक्षिक सत्र २०८१ को अन्त्य सम्ममा एनजी उन्मुलन गर्ने गरी अधिकतम प्रयत्न गर्ने उल्लेख छ ।

त्यस्तै न्यून सिकाइ उपलब्धी भएका विद्यार्थीलाई लक्षित गरी ७५ दिने रिमिडियल टिचिङ क्याम्प सञ्चालन गर्ने, प्रत्येक विषयको न्यूनतम लक्षित प्राप्ताङ्क घोषणा गरी वैयक्तिक उपचारात्मक शिक्षणको व्यवस्था मिलाउने प्रतिवद्धता छ । यसका लागि हरेक शनिबार परीक्षा सञ्चालन गरी सिकाइ उपलब्धी सुधारमा निरन्तर क्रियाशील राख्ने, सबै विद्यार्थीको न्यूनतम सिकाइ उपलब्धी ३५ सुनिश्चत गर्ने उनीहरुले प्रतिवद्धता जनाएका छन् ।

एनजी उन्मुलन गर्न एसईई शुरु हुनु भन्दा अघिसम्म बिहान बेलुका अतिरिक्त कक्षा चलाउन नगरपालिकाले विद्यालयलाई अनुदान दिने तयारी समेत गरेको छ । विद्यालयकै विषयगत शिक्षकले अतिरिक्त कक्षा चलाएर विद्यार्थीको सिकाइ सुधार गर्ने योजना अघि सारिएको नगरपालिकाका प्रवक्ता हरिभक्त पुडासैनीले बताउनु भयो ।

दोस्रो त्रैमासिक परीक्षाको नतिजाको आधारमा ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई ‘रिमिडिअल’ कक्षा चलाउन लागेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले लिएको योजना र लक्ष्य पुरा गर्न सहयोग गरिदिन नगरपालिकाका मेयर उपेन्द्र कार्कीले विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुलाई आग्रह गर्नु भएको छ ।


प्रकाशित | १८ पुष २०८१, बिहीबार १२:११