निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ कम्पनीले माग्यो ६० करोड अग्रिम भुक्तानी

रूपन्देही : निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले अग्रिम भुक्तानी मागेको छ । कम्पनीका अधिकारीहरूले आर्थिक संकट परेको भन्दै अग्रिम रूपमा भुक्तानी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष माग गरेका हुन् । मन्त्रीको जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि पुगेका मन्त्री भट्टराईसँग चिनियाँँ ठेकेदार कम्पनीका उच्च अधिकारीहरूले यस्तो माग गरेका हुन् ।

मन्त्री भट्टराईले तोकिएकै समय ९डिसेम्बर ३१ भित्र० विमानस्थल निर्माण सम्पन्न गर्न आयोजनाको कार्यालय र निर्माण कम्पनीलाई निर्देशन दिएलगत्तै निर्माणकर्ता चिनियाँ कम्पनीका अधिकारीले अग्रिम भुक्तानीको माग गरेका थिए । ठेकेदार कम्पनीका अधिकारीले अझै पनि नदीजन्य वस्तु र माटोको अभाव भएको तथा आपूmहरूलाई आर्थिक रूपमा कठिनाइ भएको गुनासो गरेका थिए
। यो समाचार आजको कारोबार दैनीकमा प्रकाशित छ ।
समाचारमा जनाइएअनुसार चिनियाँ निर्माण कम्पनीले करिब ६० करोड रुपैयाँ अग्रिम माग गरेको गौतम बुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । “उहाँहरूले रकम माग गर्नु भएको हो, तोकिएकै समयमा काम सक्नका लागि कामदार थप्नुपर्ने, अतिरिक्त निर्माण सामग्री थप्नुपर्ने, इक्युपमेन्ट थप्नुपर्ने र कार्य समयसमेत थपेर कम्तिमा १८ घन्टा गराउनका लागि रकम माग गरेका छन्,” उनले भने, “हामीले यो माग दातृ निकाय, राष्ट्रिय गौरवको आयोजनाको कार्यालय, नागरिक उड्डयन प्राधिकरण तथा पर्यटन मन्त्रालयमा फरवार्ड गरेका छौं र त्यहाँ छलफल भइरहे पनि टुंगो लागेको छैन ।”

चिनियाँ कम्पनीले माग गरेको रकम २ किस्तामा दिन सकिने र त्यसका लागि चिनियाँ कम्पनीले बैंक ग्यारेन्टी फेरि राख्नुपर्ने हुन्छ । उसले माग गरेको रकम अतिरिक्त रकम नभइ उसले पाउनुपर्ने रकमबाट कट्टा हुने गरी माग भएको हो । चिनियाँ कम्पनीका अनुसार तोकिएकै समयमा काम सम्पन्न गर्न थप आर्थिक अभाव नहोस् भन्दै रकम माग गरेको हो । नदीजन्य वस्तुका विषयमा भने मन्त्री भट्टराईले सबै स्थानीय सरोकारवालाहरूलाई विमानस्थल समयमै निर्माण सम्पन्न गर्न मदत गर्न आग्रह गरे । आवश्यक सबै नदीजन्य वस्तुहरू तथा माटो सहज रूपमा उपलब्धता गराउन उनले सबैलाई सहयोगको अपिल गरे ।

पछिल्लो समय बुटवल उपमहानगरपालिकाले नदीजन्य वस्तु उपलब्ध गराउने बिषयमा अवरोध गरे पनि पछि भने उपलब्ध गराएको थियो । अहिले नदीजन्य वस्तु स्थानीय रूपमा र साथै दाङ र चितवनबाट समेत आइरहेको छ ।
अझै पनि बिमानस्थलका लागी २ लाख घनमिटर नदीजन्य वस्तु र साढे ३ लाख घनमिटर माटो आवश्यक छ । नदीजन्य वस्तु टर्मिनल भवन अगाडिको ट्याक्सी पार्क निर्माण, पेरीफेरी रोड, कम्पाउन्डलगायतका लागि हो भने माटोभित्र रहेका जमिन सम्याई एकै लेबलमा ल्याउन पनि हो ।

मन्त्रीले निर्माणाधीन विमानस्थलको स्थलगत अवलोकन गर्दै नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमै बिमानस्थल सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गर्दै त्यसका लागि तोकिएको समय डिसेम्बर ३१ सम्म कुनै पनि हालतमा निर्माण सक्नुपर्ने र यो सबैको परीक्षाको घडी रहेको धारणा राखे । आयोजना स्रोतका अनुसार विमानस्थलको भौतिकतर्फ ७४ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ भने इक्युपमेन्टतर्फ ६।२५ प्रतिशत काम सकिएको छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १०:२९