आज रक्षाबन्धन पर्व मनाइँदै, नेवार समुदायमा घर घरमा क्वाँटी खाने प्रचलन

काठमाडौँ – साउन शुक्ल पूर्णिमाका दिन चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ ।

चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ ।

राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ । त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ । यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ ।

त्यस्तै, जनैपुर्णिमाको दिन नेवार समुदायमा घर घरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो समय सबै समुदायको यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेको पाइन्छ ।

नेवार समुदायमा हरेक चाड पर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई रोगसँग लड्न सहयोग गर्नुको साथै रोगप्रतिरोधात्मक क्षमता पनि बढाउछ ।


प्रकाशित | १९ श्रावण २०७७, सोमबार ०९:३९