नेपालमा गरिने कोरोना परीक्षण विश्वसनीय भएनः वायु सेवा निगम

काठमाडौं । नेपाल वायु सेवा निगमले देशका प्रयोगशालामा भएको कोरोना परीक्षण विश्वसनीय नहुँदा आफूलाई ठूलो आर्थिक नोक्सानी भएको र प्रतिष्ठामा आँच पुगेको जनाएको छ ।

एअरलाइन्सले आज विज्ञप्ति निकालेर सजगताका साथ पीसीआर परीक्षण गर्न प्रयोगशालालाई अनुरोध पनि गरेको छ ।

नेपालका प्रयोगशालाको कोरोना नेगेटिभको रिपोर्ट दिएका यात्रुलाई नेपाल एयरलाइन्सले गन्तव्यमा पुर्‍याएर त्यहाँ परीक्षण गर्दा उनीहरुमा पोजेटिभ देखिने गरेको छ ।

जसका कारण कोरोना संक्रमित यात्रु ल्याएको भन्दै केही देशले नेपाल एयरलाइन्सको उडानमा प्रतिबन्ध लगाएका छन् । नेपाल एअरलाइन्सका यात्रुमा कोरोना देखिएपछि हङकङले उडानमा प्रतिबन्ध लगाइसकेको छ ।

दुबई र नारिता विमानस्थलले नेपाल एयरलाइन्सलाई चेतावनी पठाएका छन् । जसका कारण एयरलाइन्सले नेपालका प्रयोगशालाको विश्वसनियतामाथि नै प्रश्न उठाएको छ ।

नेपाल एयरलाइन्सले पीसीआरको नमूना दिएपछि सावधानी अपनाएर सजग रहन यात्रुलाई पनि आग्रह गरेको छ । नेपालमा रिपोर्ट नेगेटिभ देखाउने तर अरु देशमा गएर परीक्षण गर्दा पोजेटिभ आएमा त्यसको सम्पूर्ण जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि एअरलाइन्सले स्पष्ट पारेको छ ।


प्रकाशित | १९ कार्तिक २०७७, बुधबार १९:१७